५ कार्तिक २०८३, बिहिबार

चितवनमा मात्रै तीन करोडभन्दा बढी राहत सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २९ वैशाख । भूकम्पका कारण प्रभावितका लागि चितवनमा मात्रै करिब तीन करोडको राहत रकम र सामग्री सङ्कलन भएको छ ।

सङ्कलित राहत प्रभावित भएका छिमेकी जिल्ला गोरखा, धादिङ, मकवानपुर, नुवाकोट र नवलपरासीमा पठाएको बताइएको छ ।

सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्दा चितवनमा मात्रै तीन करोडभन्दा बढीको राहत सङ्कलन र वितरण भएको पाइन्छ ।

चितवनका पहाडी जिल्ला भूकम्पबाट नराम्रो गरी प्रभावित भएका छन् भने तराई क्षेत्रमा सामान्य मात्रै प्रभाव परेको छ ।

जसका कारण चितवनवासीले छिमेकी जिल्लालाई सहयोग गर्न उत्साहित ढङ्गले लागेका छन् ।

सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित राहत समिति चितवन २०७२ ले हालसम्म  ४४ लाख राहत सङ्कलन गरिसकेको छ ।

त्यस्तै जिल्ला दैवीप्रकोप उद्धार समन्वय समितिमा  १५ लाख सङ्कलन भएको छ ।

सर्वसाधारण जनताले दलीय संयन्त्र र सरकारी कर्मचारीमाथि विश्वास नराख्दा ती संस्थामा भन्दा दसौँ गुणा बढी राहत सोझै वितरण गरेको पाइन्छ ।

उद्योग वाणिज्य सङ्घ चितवनले  २५ लाख रुपैयाँभन्दा बढीको राहत रकम र सामग्री सङ्कलन गरी चितवनसहित गोरखा, धादिङ, नुवाकोटमा वितरण गरेको उवासङ्घका अध्यक्ष कल्याण जोशीले बताउनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घले करिब  ११ लाख र  २२ लाख मूल्यबराबरको अण्डा वितरण गरिसकेको सङ्घका अध्यक्ष शिवराम केसीले बताउनुभयो ।

यस्तै उद्योग सङ्घ चितवनले करिब रु आठ लाख र पोल्ट्री व्यवसायी मञ्चले करिब  आठ लाख सङ्कलन गरी विभिन्न निकायमार्फत वितरण गरेको जनाएको छ ।

यस्तै मनकामना दर्शन प्रालिले लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषमार्फत अहिलेसम्म  ६० लाखबराबरको राहत वितरण गरेको जनाएको छ ।

चितवनको दारेचोक, चण्डिभञ्ज्याङ र गोरखाको बकराङ, मकैसिंग गाविसमा राहत पठाएको केबुलकारका अध्यक्ष राजुबाबु श्रेष्ठले बताउनुभयो । भरतपुर आँखा अस्पतालले  ६२ लाखबराबरको राहत सामग्री गोरखाका प्रभावित क्षेत्रमा वितरण गरेको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका प्रथम उपाध्यक्ष सुमन घिमिरेका अनुसार सङ्घ, रेस्टुरेन्ट तथा बार एसोसिएसन, लायन्स क्लब, सामुदायिक स्वास्थ्य केन्द्र, बाघमारा मध्यवर्ती सामुदायिक वनलगायतले  ४० लाखका राहत सामग्री वितरण गरिसकेका छन् ।

होटेल मोनालिसाले स्टुडेन्ट भोलेन्टियर प्लेसपेन्ट इन्टरनेसनल संस्थासँग मिलेर  २२ लाखबराबरको राहत सामग्री वितरण गरेको छ । सपना भिलेज इम्प्याक्टले प्रभावित जिल्लामा  १६ लाख २४ हजार मूल्यबराबरको राहत वितरण गरेको छ ।

चितवनका सञ्चारकर्मीको समूहले फेसबुकमार्फत चलाएको ‘हामीले नगरे कसले गर्ने’ अभियानमार्फत राहत सङ्कलन गरी चितवन, मकवानपुर, गोरखालगायत जिल्लाका प्रभावित क्षेत्रमा करिब रु नौ लाख बराबरको उपभोग्य सामान पु-याएको जनाएको छ ।

केरा व्यवसायी सङ्घले रु एक लाख सहयोग गरेको छ । चितवनमै हालै गठित चितवन गोरखा समाजले करिब पाँच लाख सङ्कलन गरी विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर राहत वितरण कार्य थालेको संयोजक पूर्ण दवाडीले बताउनुभयो ।

त्यसैगरी निजी अस्पताल, शिक्षण संस्था, सञ्चारमाध्यम, गैरसरकारी संस्था, सामाजिक संस्था, टोल विकास संस्था, सामुदायिक वन, बैंक तथ वित्तीय संस्थालगायतले राहत सङ्कलन र वितरण कार्य जारी राखेका छन् ।