२ कार्तिक २०८३, सोमबार

भित्रीवस्त्रमा मोसो दलेर गाउँ घुमाइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramila-Chaudhari-Dang-Deukh1दाङ, २९ वैशाख । गाउँको निर्णय भन्दै सतबरिया–२ वनघुस्रीमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ । गाउँलेले उनलाई कपाल मुण्डन गर्दै कालोमोसो दलेर अर्धनग्न पारेर गाउँ घुमाएका छन् ।

छिमेककै पुरुषसँग अवैध यौनसम्बन्ध र सम्बन्धका कारण पुरुषले आत्महत्या गरेको आरोप लगाउँदै महिलामाथि अमानवीय व्यवहार हुँदा तीन किलोमिटर पर रहेको वडा प्रहरी कार्यालय लमहीका सुरक्षाकर्मी तमासे बनेपछि गाउँमा गरिबगुरुवाले न्याय पाउन मुस्किल छ भन्ने प्रस्टै देखिन्थ्यो ।

घटना सोमबार बिहान साढे ११ बजेतिरको रहेको सौर्य दैनिकले छापेको छ । महेन्द्र राजमार्गसँग जोडिएको गाउँमा महिलाको हुलले एउटी महिलालाई कपाल काटेर, मुखमा कालो पोत्दै जुत्ताको माला लगाएर भित्रीवस्त्रमा गाउँ घुमाए ।

गाउँको निर्णयका नाममा चौधरी परिवारकी ती महिलालाई कानुन हातमा लिएर सामाजिक रूपमा बहिष्कार गर्ने काम भयो । घटनास्थल पुगेको प्रहरीले पनि पहिलो चरणमा केही गर्न सकेन ।

गाउँका अगुवाले पनि महिलामाथि भइरहेको अमानवीय दृश्य हेरिरहे । रोक्न सकेनन्, मानवीय समवेदना भुलेर यस्तो हर्कतमा उत्रन हुन्न भन्न सकेनन् ।
गाउँका अगुवा शालिकराम चौधरीले भने, ‘यो गाउँको निर्णय हो ।’ उनले थपे, ‘कानुनमा के छ, हामीलाई थाहा छैन । तर, गाउँविरुद्ध जानेलाई हामीले यस्तै कारबाही गर्दै आएका छौँ ।’

उनका अनुसार, महिला र गाउँकै एक युवाबीच यौनसम्बन्ध थियो । पछि उनले आत्महत्या गरे ।

आत्महत्याको कारण यिनै महिला थिइन् भन्दै गाउँ भेला गरेर २५ हजार जरिबाना तोकियो । उनले त्यो पैसा तिर्न सकिनन् । अहिले ५० हजार रूपैयाँ जरिबाना असुल गर्ने निर्णय गर्दै गाउँलेले अमानवीय व्यवहार गर्दै गाउँमा नांगै घुमाए ।

यो विषयमा गाउँमा पनि धेरैपटक छलफल भयो । तर, समस्या समाधान भएन । पीडित महिला आफूमाथि अन्याय परेको भन्न नसक्ने, कानुन हातमा लिइयो भनेर प्रहरी गाउँलेमाथि कारबाही गर्न नसक्ने ।

पीडितले भनिन्, ‘ममाथि अन्याय भइरहेको छ । गाउँले झुटो आरोप लगाइरहेका छन् ।’ ती पुरुषले तीन महिनाअघि आत्महत्या गरेका हुन् । कमजोर आर्थिक अवस्था भएकी पीडित महिलाको परिवार गाउँमा सामान्य मजदुरी गर्र्छ ।

समातिए कालोमोसो दल्ने

सिडिओ लोकनाथ पौडेलले कालोमोसो दल्ने कार्यमा संलग्नको पहिचान गरी नियन्त्रणमा लिन निर्देशन दिएपछि दोस्रोपटक गाउँमा पुगेर वडा प्रहरी कार्यालय लमहीले आठ जनालाई नियन्त्रणमा लिएको छ । एसपी खिनुप्रसाद आचार्यले घटनामा संलग्नलाई कानुनी कारबाही गरिने बताए । ‘घटना समवेदनशील छ’, उनले भने, ‘संलग्नको पहिचान गरी मुद्दा अघि बढाइनेछ ।’

‘गाउँमा डेढ सय मानिस जम्मा भएका थिए,’ दोस्रोपटक गाउँ पुगेका वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले भने, ‘अनुसन्धानका लागि ल्याइएकासँग बयान लिइरहेका छौँ ।’ प्रहरीले पीडितलाई पनि उद्धार गरेको छ ।

घटनामा ६ जना मुख्य दोषी पाइए पनि प्रहरीले चारलाई नियन्त्रणमा लिएको छ । सतबरिया–२ वनघुस्रीका सीतारामी चौधरी, पानमति चौधरी, हीरामति चौधरी, जानकी चौधरीलाई नियन्त्रणमा लिएको हो ।