काठमाडौं-नेपाली कांग्रेसका सभासदहरुले भूकम्पप्रभावितको उद्धार र राहत वितरण प्रभावकारी ढंगबाट अघि बढाउन नसकेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्। कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभासदहरूले पार्टी सभापति नेतृत्वको सरकारप्रति आक्रोश पोखेका हुन्।प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापतिले विपतको समयमा पार्टीभित्र र अन्य पार्टीसँग पनि समन्वय गर्न नसकेको भन्दै सभासदहरूले राहत वितरण र नीति निर्माणमा सहभागी गराउन नेतृत्वसँग आग्रह गरेका छन्। बैठकमा बोल्ने सबै सभासदले जनप्रतिनिधिलाई भूमिकाविहीन बनाइएको गुनासो गरेको बताउँदै केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक प्रतिनिधि प्रदीप पौडेलले भने, ‘सरकारी निर्णयको साक्षी बस्नेमात्र होइन, नीति–निर्माण र राहत वितरणमा सहभागी गराउनुपर्नेमा सबैको जोड थियो।’
सरकारले पार्टीसँगको समन्वयसमेत आवश्यक नठानेको गुनासो गर्दै सभासदहरुले व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव दर्ता गरेपछि मात्र दलको बैठक बोलाएकोमा समेत नेतृत्वको आलोचना गरेका थिए। पुनर्वास र पुनःनिर्माणमा पार्टीभित्र समन्वय गरेर अघि बढ्न नेतृत्वलाई सुझाउँदै सभासदले दुर्गम बस्तीमा अझै राहत नपुगेको भन्दै नेतृत्वसँग रोस पोखे। मुलुकमा आइपरेको विपतमा समेत सरकारको उपस्थिति शून्य रहेको आरोप लगाउँदै सभासदहरुले राहत वितरणलाई प्रभावकारी बनाउन नसके सरकार छोड्नसमेत चेतावनी दिए ।
सभासद् आङ्टावा शेर्पाले सरकार उद्धार र राहत वितरण गर्न असफल भएको आरोप लगाउँदै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइरालालाई अक्षम भएर सरकारमा नबस्न आग्रह गरे। ‘प्रभावितलाई एक थान त्रिपाल दिन नसक्ने सरकारको के काम,’ शेर्पाले बैठकमा भने, ‘अक्षम भएर सरकार किन बस्नुपर्यो छाडिदिए हुन्छ।’
भूकम्पबाट जनता आहत हुँदासमेत सरकारले राहत दिन प्रभावकारी नीति र व्यवस्थापन गर्न नसकेको बताउँदै अर्का सभासद रामहरि खतिवडाले भने, ‘जनताको पीडामा साथ दिन नसक्ने सरकार हामीलाई चाहिँदैन।’ जनताले महसुस गर्नेगरी राहतको प्याकेजसहित गाउँ पुग्न उनले नेतृत्वको ध्यानाकर्षण गरे।
प्रधानमन्त्री र मन्त्रीहरु निकम्मा हुँदा भूकम्पप्रभावितलाई राहत वितरणमा कर्मचारीतन्त्र हावी भएको गुनासो गर्दै एउटा त्रिपालका लागि कर्मचारी र मुख्यसचिवको चाकडी गर्नुपरेको गुनासो गरे। राजनीतिक नेतृत्वको अक्षमताले लोकतान्त्रिक व्यवस्थामाथि नै जनताले प्रश्न उठाउने अवस्था आउन लागेको भन्दै सभासद मदन अमात्यले बताए। ‘मुख्यसचिव हाम्रो नेता हो कि तपाईं–हामी?’ उनले भने, ‘हिजो प्रधानन्यायधीश नेतृत्वको सरकार स्वीकार गर्यौंग, फेरि प्रधानसेनापति वा अरु कसैको नेतृत्वलाई मान्नुपर्ने अवस्था आउन नदिन बेलैमा सोच्नुपर्यो ।’
एकथान त्रिपाल दिन नसक्ने सरकार कसरी प्रभावकारी भयो भन्ने प्रश्न गर्दै अमात्यले भने, ‘अहिलेको पाराले कांग्रेसको भविष्य समाप्त हुने सम्भावना छ।’ अर्का सभासद मोहनबहादुर बस्नेतले भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १ लाख ५० हजार किलो चामल, १५ सय किलो दाल पठाएर सरकारले के–के न गरेँ भन्दै प्रचार गरेको आरोप लगाए। ६५ हजार घरका तीन लाख बढी प्रत्यक्ष प्रभावित भएको बताउँदै बस्नेतले भने, ‘इतिहासको ब्याज खाएर बसेको यो सरकारले जुरे पहिरोमा दिने भनिएको राहत त वितरण गरेन यस्तो सरकारप्रति के खेद प्रकट गर्नु दुःख व्यक्त गर्छु।’
बैठकमा शंकर भण्डारी, दिलमान पाखि्रन, बहादुरसिंह लामासहित सभासदले प्रधानमन्त्री र मन्त्रीहरु परिवारवादबाट मुक्त हुन नसक्दा भूकम्पप्रभावितले बेलामा राहत पाउन नसकेको आरोप लगाए। केन्द्रीय सदस्यसमेत रहेका सभासद भण्डारीले टाउको गनेर मन्त्री भएकाहरु मन्त्रालय र सचिवालयमा परिवारका सदस्यको घेरामा सीमित भएको बताए। प्रधानमन्त्रीनिवास बालुवाटारदेखि मन्त्रीनिवास र मन्त्रालय ननपोलिटिकल र परिवारका सदस्यको घेराले लोकतन्त्र नै समाप्त हुने अवस्थामा आउन लागेको भन्दै भण्डारीले भने, ‘परिवारप्रति होइन जनताप्रति उत्तरदायी हुन नसक्ने हो भने सरकार छोड्नुहोस्।’
सभासद नविन्द्रराज जोसीले सरकार र पार्टीबीचको समन्वय अभाव रहेको भन्दै प्रभावितलाई के आश्वासन दिने भन्ने प्रश्न गरेका थिए। ‘एउटा पाल दिन सकिएको छैन,’ जोसीले भने, ‘जनतामाझ के आश्वासन र राहत लिएर जाने हो सरकारले प्रस्ट पार्नुपर्योी।’ सभासद कमल पंगेनीले पनि सरकारले भूकम्पप्रभावितलाई राहत वितरणमा समन्वय गर्न असफल भएको भन्दै अहिलेको अवस्था कायमै रहे लोकतान्त्रिक व्यवस्थामाथि खतरा आउने धारणा राखे।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति कोइरालाले भने आकस्मिकरुपमा आइपरेको विपत्तिबाट पीडित भएकालाई राहत पुर्यारउने र पुनःनिर्माण गर्ने काममा सरकार संवेदनशील भएर लागिरहेको बताएका थिए। आकस्मिक विपत्तिमा युरोप, अमेरिकमासमेत राहत र उद्धारमा कमी–कमजोरी भएको उल्लेख गर्दै कोइरालाले सरकारको तर्फबाट व्यवस्थापनमा भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्ने स्पष्ट पारे। ‘अहिलेको अवस्थामा देशलाई नै मिलाएर अघि बढनुपर्ने बेलामा तपाईंहरुको कुरा नसुन्ने कुरै भएन,’ कोइरालालाई उद्धृत गर्दै केन्द्रीय सदस्य पौडेलले भने, ‘तपाईंहरुले उठाएका कुरा जायज छन्, सबै एक भएर लाग्नुपर्छ।’
कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठले भूकम्पप्रभावित जिल्लाका सभासदले प्रभावितले अझै पनि राहत पाउन नसकेको भन्दै सरकारलाई छिटो व्यवस्थापन गर्न नेतृत्वको ध्यानाकर्षण गराएको बताए। ‘पीडित समस्यामा छन्, अझै प्रभावकारी काम भएको छैन भन्ने सबै सभासदको चासो थियो,’ श्रेष्ठले भने, ‘वर्षा अघि नै पीडितलाई बसोबासको व्ययवस्था मिलाउन, राहत नपुगेका स्थनमा छिटो पठाउन सरकारलाई आग्रह गरेका छन्।’ आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया