२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीले भने–’मेरो स्वार्थ के छ, मैले के लिएको छु?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं, २८ वैशाख । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले भूकम्पको विपत्बाट आफू चिन्तित भएको र समस्या समाधानका लागि निरन्तर अघि बढिरहेको बताएका छन्।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा उनले भने, ‘महाविपत्तिमा रहेका जनताबीच उद्धार र राहत नपुर्‍याउन मेरो स्वार्थ के छ र? मैले के लिएको छु? स्पष्ट होस्।’
बैठकमा सरकारले भूकम्पपीडितको उद्धार गर्न नसकेको र पीडितसम्म राहत पुर्‍याउन नसकेको भन्दै आक्रोश व्यक्त गर्ने सभासद्प्रति झर्किंदै कोइरालाले यस्तो बताएका हुन्। संविधानसभा भवनको लोत्से हलमा बसेको बैठकमा सहभागी १७ जना सभासद्ले भूकम्पपीडितको खोजी, उद्धार र राहतमा सरकार चुकेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
कांग्रेस सभासद्ले उद्धार र राहतमा असफल भएको सरकारले सोही कार्यमा दिनरात खटिएका सेनालाई आशंका गर्दै प्राकृतिक भूकम्पपछि राजनीतिक भूकम्प जाँदैछ भन्नुको अर्थ प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्ने माग गरेका थिए।
कोइरालाले अमेरिका र युरोपमा पनि विपत् आउँदा त्यसको व्यवस्थापनका लागि पाँचसात दिन लाग्ने भन्दै बिनातयारीमा रहेको हाम्रो जस्तो देशमा जादुको छडीझंै उद्धार र राहत हुन नसक्ने बताएका थिए।
सभासद् रामहरि खतिवडाले ‘सरकारलाई जनता चाहिँदैन भने सभासद्हरूलाई पनि सरकार चाहिँदैन भनेका थिए। उनले अन्नपूर्णसँग भने, ‘एउटा पाल दिन नसक्ने सरकारले घर ढलेकालाई दुई लाख रुपैयाँ देला भन्ने पत्याउन सकिँदैन।’
अर्का सभासद् मदन आमात्यले भनेका थिए, ‘सरकारले घोषणा गर्ने होइन कार्यान्वयन गर्नुपर्‍यो।’ प्रधानमन्त्रीले सत्तापक्षीय र प्रतिपक्षी सबै सभासद्सँग भेट गरी उनीहरूका सल्लाहसुझाव लिनुपर्ने अमात्यले बताएका थिए।
सभासद् मोहन बस्नेतले जनतालाई किन अहिलेसम्म सम्बोधन हुन सकेन भन्ने प्रश्न गरेका थिए। उनले भने, ‘जनता नगदसहित सम्बोधनको प्रतीक्षामा छन्।’ उनले राज्यको कुरा बोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आज एउटा कुरा भोलि अर्को कुरा होइन गरेको बाचा पूरा गर्नुपर्ने बताएका थिए। उनले भनेका थिए, ‘सरकार उद्धार र राहतमा असफल भएकै हो। पुनर्स्थापना र पुनर्निर्माणमा त्यस्तो हुनु भएन।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।