५ कार्तिक २०८३, बिहिबार

भत्केका घर बनाउन विद्यार्थी र सेनाको हातेमालो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २८ वैशाख । कुनै स्कुले विद्यार्थी दिनभर ढुङ्गा बोकिरहेका छन्, माटो मुछ्ने काममा व्यस्त छन् ।

विद्यार्थीसँगै मिलेर नेपाली सेनाका जवान घरको गारो लगाइरहेका छन् ।

पर्वतको तिलहार गाविसको गिज्यान गाउँमा विद्यालयमा कापी र कलमसँग खेल्ने विद्यार्थी भूकम्पपीडितका भत्केका घर बनाउन दिनभर खटिरहेका छन् ।

विद्यार्थी र सेना मिलेर गाउँका बिपन्न र असहाय सदस्यको भत्केको घर पुनः निर्माण गरीरहेका छन् ।

विद्यार्थी र नेपाली सेनाका जवानले कुनै प्रयोगात्मक अभ्यास होइन विनाशकारी भूकम्पबाट अधिकांश घर ध्वस्त भएको तिलहारको गिज्यान गाउँका दुई असहायको घर बनाउँदैछन् ।

भूकम्पका कारण सिङ्गो गाउँ प्रभावित बनेको पर्वतको तिलाहार–३ गिज्यानमा श्रम शिविर सञ्चालन गरी विद्यार्थी र नेपाली सेना मिलेर लक्ष्मी विक र भीमबहादुर नेपालीको घर पुनः निर्माण गरिएको छ ।

जुनियर रेडक्रस सर्कल र नेपाल स्काउट नमुना आवासीय उच्चमावि टुप्सको सक्रियतामा दुईजना पीडितको घर बनाउने काम भइरहेको छ । उनीहरुले तीनदिने श्रम शिविर सञ्चालन गरी घर निर्माण गरिरहेका छन् ।

१५२औँ विश्व रेडक्रस दिवसको अवसर पारेर झन्डै क्षतिग्रस्त २५० घर भएको गिज्यानमा शुक्रबारदेखि सञ्चालन हुने गरी तीनदिने शिविर सञ्चालनमा आएको थियो ।

शिविरमा नेपाल रेडक्रस सोसाइटी पर्वतका पदाधिकारी र नमुना आवासीय उच्चमाविको कक्षा ९ र १० मा अध्ययनरत ६० विद्यार्थीको सहभागिता रहेको छ ।

उनीहरुले सानो भए पनि मानवीय सहयोग जुटाउनका लागि काम गरिरहेको बताएका छन् ।

उक्त कार्य सञ्चालनका लागि कुश्माबजारमा बसोबास गर्ने विभिन्न सहयोगदाताले खाजा, निर्माण सामग्री तथा औजार, नगद रकम, खानेपानी सहयोग उपलब्ध गराएका छन् भने नमुना आवासीय माबिका विद्यार्थीले खाजा खर्च बचाएर सहयोग गरिरहेका छन् ।