– प्रकाशचन्द्र भट्टराई
तनहुँ, २७ वैशाख । भूकम्प पीडितलाई राहत बाँड्न हिँडेका एमाले नेता कृष्णकुमार श्रेष्ठ किसानले शिक्षकलाई दिने पारिश्रामिकको अभावमा बन्द भएको बालविकास केन्द्रको शिक्षकको पारिश्रमिक उपलब्ध गराएका छन् ।
गत संविधानसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदबार बनेका श्रेष्ठले आईतबार कोटा गाविस–१ कालिकाटारमा रहेको चेतना बालविकास केन्द्रको शिक्षकको लागि एक बर्षको तलब एकमुष्ठ भुक्तानी गरेका हुन् ।
एक जना शिक्षकको लागि पनि तलब खुवाउन नसकेपछि गतबर्ष देखी नै बन्द भएको सो बालविकास केन्द्र पुनः सञ्चालनको लागी श्रेष्ठले शिक्षकको एक बर्षको तलब ३६ हजार र गत बर्षको बक्यौता १८ हजार गरि ५४ हजार रुपैयाँ एकमुष्ठ बालविकास केन्द्र सञ्चालक समितिका अध्यक्ष मिनबहादुर गुरुङलाई प्रदान गरेका थिए । बालविकास केन्द्र स्थापना गरेपनि जिल्ला शिक्षा कार्यालयले शिक्षकको कुनै कोटा नदिएपछि आर्थिक अभावमा गत बर्ष देखी नै उक्त बालविकास केन्द्र बन्द भएको थियो ।
भूकम्पले पु¥याएको क्षतीको बारेमा स्थानीय बासिन्दाहरुसँग अन्तरक्रिया गर्ने क्रममा तलब अभावमा बालविकास केन्द्र बन्द भएको गुनासो अभिभावकहरुले गरेपछि गत बर्षको बक्यौता र आगामी एक बर्षको शिक्षकको तलब उपलब्ध गराएको श्रेष्ठले बताए । राज्यले यस्ता विकट बस्तीहरुमा नहेरेपछि बालबालिका शिक्षाबाट बञ्चित हुनु पर्ने अवस्था आएको भन्दै श्रेष्ठले आफु दमौली फर्किएपछि यसबारेमा जिल्ला शिक्षा अधिकारीसँग छलफल गर्ने बताए ।
श्रेष्ठले शिक्षकको तलब उपलब्ध गराएपछि सोमबार देखी नै सो बालविकास केन्द्र सञ्चालनमा आउने अध्यक्ष गुरुङले जानकारी दिए । भुजेल बस्तीका बालबालिका अध्ययन गर्ने सो पुर्व प्राथमिक विद्यालयमा तलबको अभावमा बन्द भएपछि ४० बालबालिका अध्ययनबाट बञ्चित भएका थिए । स्थानीय अभिभावकहरुले यसबारे जिल्ला शिक्षा कार्यालयमा पटक पटक गुनासो गरेपनि सुनुवाई नभएको एक अभिभावकले बताए ।















प्रतिक्रिया