काठमाडौँ, २७ वैशाख । नेपाल पत्रकार महासङ्घका सभासद् तथा मेरोलगानी डटकमका सम्पादक तिलक कोइरालामाथि समाचार सङ्कलनका क्रममा नुवाकोटको ओखरपौवा क्षेत्रका केही स्थानीयले आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।
महासङ्घद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार पत्रकार कोइरालालाई वैशाख २६ गते ओखरपौवाको डम्पिङ साइट र ढुङ्गाखानीहरूसम्बन्धी समाचार सङ्कलनका लागि जाँदैगर्दा केही अघि एक व्यक्तिलाई घरबाट निकालेर प्रहरीले मोटरसाइकलमा बसाउँदै गर्दा महिलाहरूले ती व्यक्तिलाई खोस्न प्रहरीसँग गरेको घम्साघम्सीको फोटो खिचेको भन्दै आक्रमण गरेका थिए ।
उक्त समूहले झोला र पर्ससमेत लुटेको पत्रकार कोइरालाले जानकारी दिनुभएको उल्लेख गर्दै महासङ्घले यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्नुका साथै दोषी पहिचान गरी कारबाही गर्न र पत्रकारको सुरक्षामा संवेदनशील हुन सरकारसँग माग पनि गरेको छ । रासस
















प्रतिक्रिया