
चौतारा, २७ वैशाख । सिन्धुपाल्चोक जिल्लाका भूकम्प पीडितहरुले अझैसम्म अति आवश्यक राहत सामाग्री नपाएको गुनासो गरेका छन् । उनीहरुले केही पहुँच पुगेकाले भने विभिन्न खालका राहत सामग्री पाएको बताएका छन् ।
पुन्चोक गाविसका विष्णु भारतीले त राहत नपाएको आक्रोशमा आफ्नो घर छेउमा हिड्ने विभिन्न संघसंस्थाका प्रतिनीधिसँग झगडा गर्न थालेका छन् । पुन्चोक, नवलपुर, पिपलडाँडा गाविस र मेलम्ची बजार लगायतका क्षेत्रका भूकम्प पीडितले राहत नपाएको गुनासो गरेका छन् ।
यद्यपी सरकारी निकायले भने जिल्लाका अधिकांश गाविस तथा नगर क्षेत्रमा केही राहत दिइएको बताएको छ । भूकम्प प्रभावित क्षेत्रमा खानेपानीका मुहान सुक्नाले स्वस्थ खानेपानीको अभाव रहेको भेटिएको छ । यस्तै पशुपन्छी मरेर गाउँहरु दुर्गन्धित भइरहेको पनि पीडितहरुको भनाई छ ।
सिन्धुपाल्चोकमा भूकम्प पीडितले राहत नपाइरहेको वेला शनिवार २५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ । कैलाली जिल्लाका विभिन्न संघ संस्थाले सो राहत सामग्री पीडित पक्षलाई नै प्रदान गरेका छन् ।
कैलालीबाट आएको राहत टोलीले शनिवार साँझ जिल्ला स्वास्थ्य कार्यालय र पुन्चोक गाविसलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य कार्यालयका प्रमुख डा.सागर राजभण्डारीलाई राहत टोलीले चौतारामै गएर ५० थान पानी नचुहिने टेन्ट र औषधि प्रदान गरेको थियो ।
राहत बुझेपछि खुसी हुँदै डा.राजभण्डारीले भूकम्पबाट ध्वस्त भएका २४ वटा स्वास्थ्य कार्यालयमा प्राप्त टेन्ट प्रयोग गरेर स्वास्थ्य सेवा सञ्चालन गर्ने बताउनुभयो । उहाँले यस्ता टेन्टको सहयोगले जनस्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्ने बताउनुभयो ।
जिल्ला अस्पताल समेत ध्वस्त भएपछि अहिले सदरमुकाम चौताराको खुलामञ्चमा विभिन्न देशबाट आएका रेडक्रसले स्वास्थ्य सेवा प्रदान गर्दे आएका छन् । सिन्धुपाल्चोकमा ६८ गाविस र दुई नगरपालिका छन् ।
कैलालीको राहत टोलीले पुन्चोकका गाविसका प्राविधिक सहायक कृष्णवहादुर गिरीलाई पनि गाउँमै गएर राहत प्रदान गरेको छ । पुन्चोकलाई दुई सय ८० नचुहिने खालको टेन्ट, ४० कट्टा चामल, २० वोरा आलु लगायतका खाद्य सामाग्री प्रदान गरिएको छ ।
उहाँले पहिलो पटक गाविससँग सहकार्य गरेर राहत आएको बताउदै उहाँले यो राहत भुकम्पमा ज्यान गुमाएका, घाइते, एकल महिला र अति विपन्न परिवारलाई वितरण गर्ने बताउनुभयो । गाविसका प्राविधिक सहायक गिरीले पुन्चोकमा एक सय २८ जनाको ज्यान गएको, दुई सय जना घाइते भएको, नौ सय घर भत्केको, सबै विद्यालयमा क्षति पुगेको समेत बताउनुभयो ।
उहाँले खाद्यन्न लगायतका समस्या भएपनि मुख्य गरेर टेन्ट र त्रिपालको समस्या भएको बताउदै पहुँच भएकाले मात्र विभिन्न निकायबाट राहत पाएको जानकारी दिनुभयो । सिन्धुपाल्चोकका लागि कैलाली उघोग वाणिज्य संघको अगुवाईमा, नागरिक समाज, व्यवसायीहरु, नेपाल पत्रकार महासंघ लगायतले राहत सामग्री जुटाएका थिए ।
राहत सामाग्री बुझाउन कैलालीबाट कैलाली उघोग वाणिज्य संघका सचिव जयराज जोशी, मारवाडी सेवा समितिका राहुल वंशल, ट्रेस नेपालका कार्यकारी निर्देशक छत्र बम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह लगायतको टोली सिन्धुपाल्चोक गएको थियो ।
यसैवीच हास्यकलाकार धुर्मस र सुन्तली लगायतको कलाकार टोलीले पनि पुन्चोकमा विभिन्न राहत सामग्री वितरण गरेको छ ।















प्रतिक्रिया