सप्तरी, २७ वैशाख । विगत तीन दिनको अवधिमा सप्तरी जिल्लाका विभिन्न घटनामा परी १० जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक आजमात्रै सप्तरीको शिसुवा बेल्ही गाविसकी एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् भने गएराति मोटसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।
आत्महत्या गर्नेमा सप्तरीको शिसुवा बेल्ही गाविस–५ का सञ्जय साहकी १४ वर्षीया छोरी आरती रहेको प्रहरीले जनाएको छ । आरतीले घरभित्र सलको पासो लगाएर आत्महत्या गरेको र कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्व–पश्चिम राजमार्गको कल्याणपुर सडकखण्डमा रोकिराखेको ना४त ८८०३ नंको ट्र्याक्टरमा पूर्वबाट आएको को३प २८० नम्बरको मोटरसाइकल ठोक्किँदा चालक उदयपुर–४ हडिया निवासी २१ वर्षीय भगवतीप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
चौधरीले आफैँले मोटरसाइकल चलाएर घर जाने क्रममा मोटसाइकल ट्र्याक्टरमा ठोक्किएको थियो । यस्तै हिजो साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा दुई मोटरसाइकल एकापसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी इटहरी नगरपालिका–१ का १८ वर्षीय सरत मगर, बारा गडहल–५ का २१ वर्षीय बैजुप्रसाद फौज्दार, दोलखा भीमेश्वर नगरपालिका–१० का २२ वर्षीया निमा तामाङ र काठमाडौँ महानगरपालिका–५ बस्ने ३५ वर्षीय नरेशकुमार मानन्धर रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा६६प १०९१ मोटसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को१८प ८५५७ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।
यस्तै शुक्रबार शम्भुनाथ सडकखण्डमै जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ज६प ७१०७ नंको मोटरसाइकलमा पछाडि सवार जनकपुर उपमहानगरपालिका–८ का रामकुमार सिंहकी ४५ वर्षीया श्रीमती मालतीदेवीको मोटरसाइकलबाट लडेर मृत्यु भएको थियो ।
त्यस्तै सप्तरीको दुई ठाउँको पोखरीमा शुक्रबार दिउँसो डुबेर दुई जना बालकको मृत्यु भएको थियो भने एक महिलाको बेहोस भएर मृत्यु भएको थियो ।
मृत्यु हुनेमा सप्तरीको बभन्नगामाकट्टी गाविस–२ विजय दासका १० वर्षीय छोरा मनिषकुमार दासको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको छ भने सोही गाविसकी ५२ वर्षीया उर्मिलादेवी दासको डुबेको शवलाई हेर्दाहेर्दै अचानक बेहोस भएर मृत्यु भएको थियो । यसैगरी जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठीमा पनि पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलाठी–२ निवासी श्यामनारायण साहका सात वर्षीय छोरा आशिषकुमार साह रहेको प्रहरीले जनाएको छ । साह पोखरीमा नुहाउने क्रममा डुबेका थिए । रासस















प्रतिक्रिया