काठमाडौं, २७ वैशाख । विराटनगर अमेरिकन ओस्प्रे विमानले भारतको पश्चिम बंगाल सरकारबाट प्राप्त त्रिपाल बिराटनगरमा विमानस्थलबाट काठमाडौं ढुवानी गरिरहेका छन् ।
दुई विमानले शनिबार दिनभर ६ वटा उडान भर्दै मुख्यमन्त्री ममता बेनर्जीले झापाको सिमामा नेपाललाई हस्तान्तरण गरेको त्रिपाल ढुवानी गरेको आजको अन्नपूर्णमा खवर छ ।
काठमाडौं लैजाँदै गर्दा सुनसरीमा ट्रक बिग्रेर अलपत्र परेको त्रिपाल विराटनगर विमानस्थल ल्याएपछि अमेरिकी विमानबाट ढुवानी गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीका अनुसार करिब ५ हजार त्रिपाल हवाई मार्गबाट काठमाडौंतर्फ ढुवानी हुनेछन् ।
ती त्रिपाल धादिङका भूकम्प पीडितलाई वितरण गरिने छ । प्रजिअ कार्कीले भने,‘अमेरिकी सेनाको विमानले मध्यान्हदेखि त्रिपाल ओसारेका हुन् ।’
नागरिक उड्ययन कार्यालय विराटनगर प्रमुख सुधीर चौधरीले शनिबार पहिलो उडान दुई विमानले साढे १२ बजे भरेका थिए । साढे तीनमा दोस्रो र ४ बजे अर्को उडान गरे ।
चौधरीले भने,‘दुबै विमानले ६ वटा उडान गरे ।’ पश्चिम बंगाल सरकारबाट भूकम्प पीडितका लागि एकलाख थान त्रिपाल सहयोगस्वरुप प्राप्त भएको थियो ।
विराटनगरमा पहिलो पटक ओस्प्रे विमान आउँदा मानिसहरुले चासो दिएर हेरेका थिए । विमानको आवाज र उड्दा निकै ठूलो कम्पन तथा हावा आएको महशुस गरिएको थियो ।
नागरिक उड्डयन प्राधिकरण कार्यालय विराटनगरका प्रमुख र कर्मचारी विमानस्थलको रनवे नजिकै पुगेपनि पत्रकारलाई फोटो खिच्न रोक लगाइएको थियो ।
प्राधिकरणका प्रमुख सुधीर चौधरीले पत्रकारसँग आफ्नो चिनजान नभएकोले फोटो खिच्न नदिने भन्दै रोकेका थिए ।
उनले भने,‘ फोटो खिच्न इजाजत म तपाईंहरुलाई चिन्दिन् ।’ तर प्राधिकरणका कर्मचारी तथा अन्य विमानमा आएका यात्रुले भने फोटो खिचिरहेका थिए ।
फोटो खिच्न अनुमति माग्दा चौधरीले पत्रकारलाई एयरपोर्ट प्रवेशमा रोक लगाए । कर्मचारी भने जहाज नजिकै पुगेर फोटो खिच्न ब्यस्त हुँदा पत्रकारलाई एयरपोर्टमा निषेध गरिएको पत्रकारहरुले विरोध जनाएका छन् ।
















प्रतिक्रिया