– हेमनाथ खतिवडा
रसुवा, २६ वैशाख । रसुवा जिल्लामा महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५ सय २२ पगेको छ । हालसम्म ५ सय ५२ जना घाईतेहरुको उद्धार भएको छ भने १ सय ७९ जनालाई उपचारको लागि अन्यत्र पठाईएको छ ।
भूकम्पपछिको हिम पहिरोले लाङटाङगाउँलाई पुरै क्षतिग्रस्त गरेको छ । लाङटाङ गाविसमा १ सय ८० जना स्थानीयवासी, विदेशी पर्यटक र मजदुरहरु गरी १ सय ६० जना हराई रहेको आशंका गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले बताए ।
लाङटाङ गाविसबाट शुक्रबार चारजना विदेशी पर्यटकको लास निकाले पनि पुनः हिमपहिरोले खोलामा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेलले बताए ।
जिल्लाका सरकारी भवन १ सय ४८ वटा मध्ये १ सय ४५ वटा पुर्ण रुपमा क्षती भएको छ । ०६८को जनगणना अनुसार रसुवाको ९ हजार ७ सय ५३ घर मध्ये लगभग ८ हजार ५ सय घरहरुपूर्ण रुपमा क्षतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार शुक्रबारसम्म २ हजार ९ सय ८७ जनाको स्वास्थ्य उपचार तथा औषधी वितरण गरिएको छ । जिल्लाका १४ वटा स्वास्थ्य चौकी, एक प्राथमिक स्वास्थ्यकेन्द्र, जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला अस्पताल र एक सामूदायिक अस्पतालमा क्षति पुगेको छ भने लाङटाङमा रहेको स्वास्थ्यचौकीमा पुरिएका एक स्टाफनर्सको लास प्राप्त भएको र एक अनमी तथा एकजना कार्यालय सहयोगी बेपत्ता रहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्ण मिजारले बताए ।
मैलुङ्गमा गएको पहिरोमा पुरिएर एक प्रहरी बेपत्ता छन् भने एक नेपाली सेना मृत फेला परेका छन् त्यसैगरी लाङटाङ क्षेत्रमा १० जना सेना बेपत्ता रहेको जनाईएको छ ।
जिल्लामा २१ जना कर्मचारी सम्पर्क बिहिन रहेका छन् भने लाङटाङ, ठूलोगाउँ, डाडागाउँ र हाकु गाविसका बस्तीहरु भुकम्प सँगैको पहिरोले बडारिएपछि अन्यत्र सार्नु पर्ने अवस्थाका छन् । हाकु गाविसका बस्तीहरु अन्यत्र सार्नु पर्ने स्थानीय युवा सानु ताकमाङले बताए । जिल्लामा रहेको कुल १ सय ७ वटा सरकारी विद्यायल मध्ये अधिकांस भवन क्षतीग्रस्त भएको र पुर्ण बिबरण भने आउँन बाँकी रहेको जिल्ला शिक्षा अधिकार रामशरण सापकोटाले बताए ।
राहत बितरणको काम भईरहेपनि भुकम्प पीडितहरुले पर्याप्त राहत नपाएको गुनासो गरेका छन् । हालसम्म संयुक्त राज्य अमेरिका विश्व खाद्य्य कार्यक्रम, राष्ट्रिय भूमिअधिकर मञ्चमार्फत एक्सनएड नेपाल, नेपाल रेडक्रस, कतार रेडक्रस, ईन्सेक हिमराईटस्, हिमाल मिडिया, लगायलका सामाजिक संस्था र नेपाल सरकारले घर पूर्णरुपमा क्षति भएकालाई ७ हजार रुपैयाँ प्रदान गरेको छ ।
















प्रतिक्रिया