काठमाडौं, २६ वैशाख । एमाले अध्यक्ष केपी ओली शनिवार विहान प्रदर्शनी मार्ग पुगे । त्यहाँ पुगेर उनले भाषण गरेनन् । चट्पटे खाएर फर्किए । प्रदर्शनी मार्गस्थित ल क्याम्पस अगाडिको गेटमा अचानक पुगेर अध्यक्ष ओलीले चट्पटे खाएका हुन् ।
के उनी चट्पटेको पारखी हुन् त ? उनले मुखमिठोको नभई भूकम्प पीडितलाई राहत प्रदान गर्नका लागि हौसला दिन चट्पटे खाएका हुन् । स्वयम् सेवक विद्यार्थीहरुले राहत रकम संकलनको लागि चट्पटे बेचेको देखेपछि अध्यक्ष ओली अचानक गाडिबाट झरेर चट्पटे खाएका हुन् । विद्यार्थीहरुले यस्तो कार्य गरेको देख्दा केपीको अनुहारमा प्रशन्नता छाएको थियो ।
चट्पटे खाएपछि ३० रुपैयाँ दिएका ओलीले भूकम्प पीडितको लागि भन्दै थप ९ हजार प्रदान गरेका थिए । चट्पटे बेच्दै गरेका विद्यार्थीहरुले अचानक ओलीलाई देखेपछि अलमलमा परेका थिए । ओलीले १५ मिनेट विद्यार्थीहरुसँगै विताए ।
चट्पटे खान अध्यक्ष ओलीनै आएको देखेपछि केही छिनमै सार्वसाधरणको भिड लागेको थियो । उनले त्यहाँ भूकम्प पीडितको लागि अनेरास्ववियुका विद्यार्थीले थालेको राहत संकलन अभियान तथा स्वयम् सेवक विदाइ कार्यक्रममा पनि सहभागिता जनाएका थिए । अध्यक्ष ओलीसँगै पुगेका एमाले युवा नेता तथा सभासद् रविन्द्र अधिकारीले पनि एक सय रुपैयाँको चट्पटे खाए ।












प्रतिक्रिया