५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितलाई सुदूरपश्चिमको राहत (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudoor-rahat
भूकम्प पीडितलाइ सुदूरपश्चिमबाट पठाइएको राहत वुझ्दै जिल्ला शिक्षा अधिकारी दिलानाथ पुरी । तस्वीर : प्रकाशविक्रम शाह

काठमाडौं, २५ वैशाख । भूकम्प पीडितका लागि सुदूर र मध्यपश्चिम क्षेत्रका दर्जनौ संस्थाहरुले संकलन गरेको विभिन्न प्रकारका राहत सामग्री सिन्धुपाल्चोक र ललितपुरमा वितरण गरिएको छ ।

सुदूर र मध्यपश्चिम क्षेत्रका सीप प्रदायक संस्थाहरु र सेती महाकाली ट्रक व्यवसायी समितिले १५ दिनलाई पुग्ने गरेर आठ सय परिवारका लागि १५ किलोका दरले एक सय २० क्वीन्टल चामल दिइएको ट्रेस नेपाल धनगढीका कार्यकारी निर्देशक छत्र बमले वताए ।

राहत टोलीले तीन सय चार थान त्रिपाल, सात सय चार थान लगाउने कपडा र एक वोरा भाडा समेत प्रदान गरेको थियो । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्वर ३ मेलम्चीमा रहेको नेपाली सेनाको भीमकाली गुल्मका मेजर प्रेम हमालले विहीबार साँझ प्रदान गरिएको राहत सामाग्री मध्ये छ सय पोका चामल थानपालधाप गाविसमा वितरण भैसकेको वताए । उनले वाँकी रहेको दुई सय थान चामल र त्रिपाल अन्य आवश्यक ठाउँमा पठाउने वताए ।

सुदूरपश्चिमबाट लगिएको राहत सामाग्री सिन्धुपाल्चोकमा जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी, मेजर हमाल प्रहरी नायव उपरीक्षक भीम दाहाल र सशस्त्र प्रहरीका अधिकृतहरुको समेत उपस्थितिमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा राहत हस्तान्तरण गर्न गएका कैलाली उघोग वाणिज्य संघका सचिव जयराज जोशी, सेती महाकाली ट्रक व्यवसायी समितिका अध्यक्ष देववहादुर वम, इन्सिच्यूट अफ टेक्निकल एजुकेशन कोहलपुर ट्रेसका छत्र वम, वेष्ट सेन्टरका कार्यकारी निर्देशक चक्र वम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाशविक्रम शाह र पत्रकार प्रेम वाँनिया लगायतको उपस्थिति थियो ।

Sudoor-rahat-1
ललितपुरका भूकम्प पीडितलाई त्रिपाल हस्तान्रण गर्दे ट्रेस नेपाल धनगढीका कार्यकारी निर्देशक छत्र बम ।

क्षेत्र नम्वर ३ को राहत सामग्री व्यवस्थितरुपमा वितरण गर्न जिल्ला शिक्षा अधिकारीलाई मेलम्ची खटाइएको छ । जिशिअलाई क्षेत्रीय स्तरको राजनीतिक संयन्त्र, नेपाल प्रहरी र शसत्र प्रहरीले सहयोग गरिरहेको छ । मेजर हमालका अनुसार क्षेत्र नम्वर ३ मा अहिलेसम्म भूकम्पबाट एक हजार सात सयको मृत्यु भएको छ, प्राय सवै घर भत्केका छन, घाइतेको संख्या एक हजार तीन सय ५३ घाइते भएका छन् ।

घाइते मध्ये आठ सय १३ जनालाई उपचारका लागि काठमाडौ र धुलिखेल पठाइएको छ । ती मध्ये दुई सय एक जनालाई हेलिकोप्टरबाट उपचारका लागि पठाइएको छ । मेजर हमालले क्षेत्र नम्वर ३ का २४ गाविसबाट ४९ जनालाई जोखिम मोलेर जिवितै उद्धार गरिएको पनि बताए । क्षेत्र नम्वर ३ का सवै र २ का पाँच गाविसमा गरेर अहिलेसम्म विभिन्न संघ, संस्थाद्धारा प्रदान गरिएको १५ हजार सात सय ७९ वोरा चामल, आठ सय ९६ वोरा दाल र १२ हजार पाँच सय ६० थान त्रिपाल वितरण भएको उनले बताए ।

राहत टोलीले शुक्रबार ललितपुरको धापाखेल गाविसमा दुई परिवारलाई त्रिपाल वितरण गरेको छ । सुदूरपश्चिममका साथी इन्टरप्राइजेज, ट्रेस नेपाल धनगढी, पवन पुस्तक भण्डार धनगढी, डिभोटी ट्रेडिङ एण्ड रिसर्च सेन्टर, गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल एजुकेशन महेन्द्रनगर, कोहलपुर, पद्मा अस्पताल, कान्तिपुर सुदूरपश्चिम टेक्निकल कलेज, मनकामना ट्रेडिङ एण्ड स्किल डेभलपमेन्ट धनगढी र सेती महाकाली ट्रक व्यवसायी समितिले भूकम्प पीडितलाई राहत पठाएका हुन् । राहत सामाग्री सहितको टोलीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले असअघि मंगलवार विदाइ गरेका थिए ।