काठमाडौं, २५ वैशाख । विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाएका परिवारलाई सरकारले एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने भएको छ । व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव पेश गर्दै प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार पीडित परिवारलाई राहत स्वरुप १ लाख प्रदान गर्ने जानकारी दिनुभयो ।
यसअघि आफ्ना स्वजन गुमाएका परिवारलाई सरकारले तात्कालिन राहत स्वरुप मृतकहरुको अन्तिम संस्कार गर्न प्रति मृतक ४० हजार रुपैया दिने निर्णय गरेको छ ।
यसका साथै मृतकका परिवारलाई प्रति परिवार राहत स्वरुप १ लाख रुपैया सहयोग उपलब्ध गराउने निर्णय भएको छ । भूकम्पका सबै घाईतेहरुलाई सरकारी र गैर सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने नेपाल सरकारको निर्णय अनुरुप उपचारको व्यवस्था भैरहेको छ ।
सरकारी एवं गैरसरकारी निकायहरुबाट भूकम्प पीडित प्रत्येक परिवारसम्म पुग्ने गरी त्रिपाल/जस्तापाता/खाद्यान्न/लत्ताकपडा/औषधी/नून/पानी/भाँडाकुँडाको एकीकृत राहत वितरण प्रक्रियाले विस्तारै गति लिदै गएकोे छ ।
स्थानीय निकायलाई प्रभावकारी रुपमा परिचालन गरी यो प्रक्रियालाई अझ तीव्र बनाइने छ । अहिले भूकम्प प्रभावित भनी घोषणा गरिएका १४ जिल्ला बाहेक भूकम्पले अन्य थुप्रै जिल्लामा क्षति पुगेको छ । यी सबै जिल्लाको हकमा पनि राहत र पुनःस्थापना सुविधा एकैनासले वितरण गरिने छ ।












प्रतिक्रिया