काठमाडौँ, २५ वैशाख । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट सर्वोच्च अदालतको भवन पूर्णरुपमा चर्किएर इजलाससमेत बन्द भएपछि सिंहदरबार पुनःनिर्माण समितिले दुई महिनाभित्र अस्थायी भवन निर्माण गर्ने भएको छ ।
ठेक्कालगायत प्रक्रिया छोट्याएर छ इजलास सञ्चालन गर्न सकिने गरी भवन निर्माण गर्न लागिएको समितिले जनाएको छ । अहिले अदालत रहेको २४ रोपनी र पुरातत्व विभाग एवम् सोको पछाडिको नेपाली सेनाको अश्वशाला रहेको ३१ रोपनी क्षेत्रमा अस्थायी भवन निर्माण गर्न लागिएको समितिका सदस्यसचिव इन्जिनियर गिरिजाप्रसाद गोर्खालीले बताउनुभयो ।
“भूकम्पको प्रकोपका कारण भवन पूर्ण रुपमा चर्किएर काम गर्न नसकिने अवस्थामा पुगेकाले आकस्मिक भवन बनाउन प्रक्रिया छोट्याएर अघि बढ्न प्रधानन्यायाधीश, अर्थमन्त्री र मुख्यसचिसहितको बैठकमा सहमति भएको छ”, उहाँले भन्नुभयो ।
भवन निर्माणका लागि प्रारम्भिक नापजाँचका काम सम्पन्न गरी प्रतिवेदन प्रधानन्यायाधीशकहाँ बुझाइएको र दुई तीन दिनमै अन्तिम रुप दिइने समितिले जनाएको छ । भवनमा हल्का र छिटो उपयोग गर्न सकिने निर्माण सामग्री प्रयोग गरिने भएको छ । चार वर्षपछि भत्काउने गरी भवन निर्माण गर्न लागिएको बताइएको छ । रासस















प्रतिक्रिया