१४ कार्तिक २०८३, शनिबार

‘सहयोगका लागि धन होइन, मन भए पुग्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha-Bhukampa3

– रमेश लम्साल

काठमाडौँ, २५ वैशाख । मानवीय सहयोगका लागि धन चाहिँदैन, मन भए हुन्छ । अन्तरहृदयदेखि नै सहयोगको भावना आयो भने कुनै पनि अवरोधले रोक्न सक्दैन । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी नेपाली आहत भइरहेका बेला अस्ट्रियाकी एक स्वयम्सेवकलाई स्वदेश फर्कन मन लागेन ।

पीडामा परेका जनतालाई आफूले सकेको सहयोग गर्ने र दुःखमा मल्हम लगाउने साेंच मनमा पलायो । अस्ट्रियाबाट बा आमाले नेपालमा बस्ने अवस्था छैन भन्दै तत्काल घर फर्कन पटक–पटक फोन गरे । दुई दर्जनभन्दा बढी पटक त इमेल पनि लेखे ।

दुःखको बेलामा आफूमात्र सुरक्षित भएर घर फर्कनु भनेको नेपाल र नेपाली जनतालाई हेला गर्नुजस्तो लाग्यो । मान्छे भएपछि अर्को मान्छेलाई सहयोग गर्नु नै आफ्नो दायित्व भएको जस्तो लाग्यो । धादिङको बसेरीका सुत्केरी, गर्भवती तथा नवजात शिशुका लागि काठमाडौँको बालाजुमा न्यानो कपडा र पौष्टिक आहार किन्दै गर्दा भेटिनुभएकी अस्ट्रियाकी नागरिक सारा सेवर अझै पनि थप सहयोग गर्ने बताउनुहुन्छ ।

काठमाडौँमा एक अनाथ आश्रमका लागि स्वयम्सेवीका रुपमा विगत दुई महिनादेखि कार्यरत सेवरकै पहलमा धादिङ बसेरीकोे १, २, ३, ४ र ८ नं वडाका भूकम्पपीडित ५०० बढी परिवारलाई प्रतिपरिवार ३० किलो चामल, दुई÷दुई किलो दाल, चिनी, नुन गरी वितरण गरेर काठमाडौँ फर्कनुभएकी सारा सो गाविसका सुत्ेकरी, गर्भवती तथा नवजात शिशुका लागि थप राहत सामग्री उपलब्ध गराउन लागिरहेको छु ।

“आफूले भूकम्पपीडितका लागि काम गरिरहेको बताएपछि अस्ट्रियामा रहनुभएका बा आमा र साथीहरुले सहयोग जुटाएर पठाए । रु दश लाखको सहयोग त बसेरीमा उपलब्ध गराइसके, अब थप पाँच लाख खर्च गर्ने योजनामा छु” सेवरले रासससँग भन्नुभयो ।

भूकम्प प्रभावित धादिङका विभिन्न स्थानमा राहत, पुनःनिर्माणमा सहयोग गर्न अस्ट्रियाबाट थप साथी पनि आउने योजनामा रहेको जानकारी दिँदै उहाँले बसेरीको शिवालय माध्यमिक विद्यालय तथा सामाजिक भवनको पनि पुनःनिर्माणका लागि सहयोग गर्ने योजना सुनाउनुभयो ।

“म सँग पैसा छैन, तर मेरो मुलुकका सहयोगीसँग अनुरोध गर्छु । मेरो साथीहरुलाई पनि नेपालको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको छु । मलाई आशा छ दुःखमा परेका नेपालीलाई सहयोग जुट्छ ।”

सामाजिक शिक्षाको विद्यार्थीसमेत रहनुभएकी सारा भूकम्प आएको दिन काठमाडौँमा नै हुनुहुन्थ्यो । मानिसको कोलाहल, भयग्रस्त मानसिकता र जीवन र मृत्यको दोसाध साच्चै पीडादायक हुँदोरहेछ उहाँँले भन्नुभयो । भत्केका घर, मृत्युको मुखमा पुगेका नागरिक, पीडामा छटपटाइरहेका बालबालिका तथा गर्भवती महिलाको वेदनाले मलाई पनि साह्रै पीडा भयो । उहाँले वैशाख १२ गते ११.५६ को अवस्थाको वर्णन गर्दै हुनुहुन्थ्यो ।

नेपालमा विनाशकारी भूकम्प आएको खबर क्षणभरमा नै विश्वव्यापी भयो, विविसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विपद्को समाचार दिए । अस्ट्रियाको केनलवाकमा रहेका उहाँका बा आमाले तारन्तार फोन गर्न थाल्नुभयो । ‘‘एक मन त मलाई स्वदेश फर्कौं जस्तो पनि लाग्यो, तर अर्को मनले भन्यो सारा विपत्का बेला पिँठयू फर्काएर भाग्ने कुरा मानवीय धर्मले दिँदैन । मैलै मेरा बा आमालाई केही रकम पठाइदिन अनुरोध गरँे, मेरा साथी भाइलाई भने, रकम जम्मा भयो । थप रकम आउँदैछ । म दुःखमा परेका नेपालीलाई थप केही न केही सहयोग उपलब्ध गराउँछु”, साराले भन्नुभयो ।

ठमेलमा बसेर पर्यटन व्यावसाय गरिरहनु भएका शङ्कर न्यौपानेले उहाँलाई सहयोग गर्नुभयो । न्यौपाने भन्नुहुन्छ ‘‘नेपालमा आएका थोरै मात्र विदेशी नागरिक यो हदसम्मको सहयोगी देखेको मैले पहिलो पटक देखँे ।’’

भूकम्पका कारण धादिङको बसेरीलगायत उत्तरी क्षेत्रका मार्पाक, आगिन्चोक, फुलखर्क, दार्खा, झार्लाङ, सेर्तुङ, लापा, रि, तिप्लिङ, त्रिपुरेश्वरलगायत अधिकांश गाविसमा जनधनको क्षति भएको छ । उत्तरी धादिङमा पर्यटन व्यवसायीले सहयोगको हात बढाएका छन् ।

अर्का पर्यटन व्यवसायी ध्रुव न्यौपाने र भानु ढकालले पनि भूकम्पपीडितका लागि सहयोग जुटाइरहनुभएको छ । ‘‘सानो सहयोगले पनि पीडामा परेका जनतालाई राहत हुन्छ भने किन नलाग्ने । सारालाई सहयोग गर्दैै आउनुभएका न्यौपानेले रासससँग भन्नुभयो ।’’ रासस