१४ कार्तिक २०८३, शनिबार

भूकम्पपीडित सञ्चारकर्मीका पीडा कसले बुझ्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suman-vomjon
भूकम्प परी निधन भएका पत्रकार सुमन

– साहिला तामाङ

ललितपुर, २४ वैशाख । यही वैशाख १२ र १३ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको क्षतिसम्बन्धी समाचार लेख्दै आएका सञ्चारकर्मीको व्यथा पनि कम दयनीय रहेको छैन ।

क्षतिग्रस्त भवनको समाचारका साथै मानवीय क्षति, उद्धार, राहत वितरण एवम् थप भूकम्पका कम्पनको समाचार जनतामाझ सम्प्रेषण गर्दै आएका सञ्चारकर्मीलाई परेको पीडा भने कम दर्दनाक छैन ।

भूकम्पका कारण ललितपुरमा क्रियाशील थुप्रै सञ्चारकर्मीको अवस्था नाजुक बन्दै गएको सो क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरुले गुनासो गरेका छन् ।

भूकम्पले पुख्र्यौली घर ध्वस्त भएपछि पत्रकार महासङ्घ ललितपुरका उपाध्यक्ष सागर न्यौपानेलाई थप समस्याले पिरोलेको छ । जिल्लाको अति विकट क्षेत्रमा पर्ने प्युटार–२ बस्ने सञ्चारकर्मी न्यौपानेले आफ्नो घरगोठ भूकम्पका कारण ध्वस्त भएर पनि आफ्नो पेसाप्रति इमान्दार भएर लागेको बताउनुभयो ।

घर भत्किएको दुई साता बित्न लाग्दासमेत बस्न एउटा पालसमेत पाउन नसकेकामा उहाँले दुःख व्यक्त गर्नुभयो । आफ्नो दुःख एकातिर भएर पनि भूकम्पका समाचार सङ्कलन गर्न गाउँ–गाउँ जानुपर्ने बाध्यता रहेको महासङ्घ उपाध्यक्ष न्यौपानेले गुनासो गर्नुभयो ।

क्षतिग्रस्त भएका घरलाई सरकारले पुनःनिर्माण गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले वर्षात्को समय आउन लागिसकेकाले राहत प्याकेजलाई छिटो ल्याएर समस्याको समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

भूकम्पबाट पीडित बनेका सञ्चारकर्मीका लागि राज्यले गम्भीर रुपमा लिएर उचित राहत दिनुपर्नेमा महासङ्घ उपाध्यक्ष न्यौपानेले जोड दिनुभयो । भूकम्पबाट आफ्नै हालत खराब भएका सञ्चारकर्मीले अरुका समाचार कसरी लेख्न सकिन्छ भन्ने प्रश्न उहाँको थियो । सर्वप्रथम आफैँ सुरक्षित भएर मात्र आफ्नो पेसालाई द्रूत गतिमा लैजान सकिने उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी चापागाउँ–१ बस्ने सञ्चारकर्मी अजय देसारको पनि व्यथा उस्तै रहेको पाइन्छ । भूकम्पले आफ्नो चारतले घरलाई क्षति पु¥याएको प्रसङ्ग जोड्दै तत्काल त्रिपालको सहायताले घरलाई छोपेर सुरक्षित राख्नसके राम्रो हुने बताउनुभयो ।

जीर्णाेद्धारका लागि सम्भावना न्यून भएकाले त्यसलाई वर्षात् अगावै सुरक्षित गरी राख्न सकेपछि विस्तारै भत्काउन सजिलो हुने उहाँको तर्क छ । राज्यले ध्वस्त एवम् आंशिक रुपमा क्षति भएका घरहरुका लागि विशेष योजना ल्याएर समस्याको समाधान गरिनुपर्नेमा उहाँको जोड थियो ।

रेडियो पर्यावरणमा कार्यरत कार्यविनायक नगरपालिकाको डुकुछाप बस्ने गोमा पाण्डेको कथन झन दर्दनाक रहेको छ । भूकम्पबाट घर पूर्णरुपमा ध्वस्त भएपछि पालमा बस्दै आउनुभएकी पाण्डेले राज्यले चोबीसै घण्टा समाचारमा खटिने सञ्चारकर्मीका लागि उचित राहतको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । आफ्नै हालत ठीक नभएपछि स्थलगत समाचार सङ्कलन कसरी गर्ने हो उहाँको गुनासो रहेको छ ।

भूकम्प गएको दिनदेखि पालमा बस्दाबस्दै चिसोका कारण रुघाखोकीले सताएको दुःख व्यक्त गर्दै राज्यको तर्फबाट छिटोभन्दा छिटो पुनःनिर्माणको प्याकेज ल्याउनुपर्नेमा उहाँको जोड थियो ।

यसैगरी महासङ्घ ललितपुरका सदस्य माधव घिमिरेको कथन पनि उस्तैउस्तै रहेको छ । इकुडोल बस्ने घिमिरेको भूकम्पका कारण दुईतले घर ध्वस्त भएको छ । नागरिकको सुरक्षा गर्नु राज्यको कर्तव्य भएकाले हामी जस्तो सञ्चारकर्मीको व्यथालाई पनि गम्भीर रुपमा लिइनुपर्नेमा जोड दिएको छ ।

जिल्लाभित्र स्थानीय रुपमा बसोवास गर्दै आएको अन्य सञ्चारकर्मी साहिला तामाङ, नवराज सञ्जेल, वासुदेव श्रेष्ठ, माधव नेपाल, सुनील महर्जनलगायतका क्रियाशील सञ्चारकर्मीको व्यथालाई राज्यले गम्भीर रुपमा लिइनुपर्नेमा उहाँहरुको जोड रहेको छ ।

महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले जनतालाई सूचना प्रभाव गर्ने जिम्मेवारी लिएको सञ्चारकर्मीका लागि तत्काल राहतको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

ललितपुरमा मात्र २५ जना सञ्चारकर्मीको घर पूर्णरुपमा ध्वस्त भएको उल्लेख गर्दै उनीहरुलाई जतिसक्दो छिटो सहयोग गर्नुपर्ने सरकारसँग अध्यक्ष न्यौपानेले माग गर्नुभयो । रासस