३० आश्विन २०८३, शुक्रबार

लाखौंको राहत भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahat-Dhangadhiधनगढी, २४ वैशाख । भारतको नयाँ दिल्लीस्थित युनिक प्लाई प्रालिले धादिङका भूकम्प प्रभावितहरुका लागि करिब २० लाख बराबरको राहत सामग्री पठाएको छ ।

त्रिपाल, खाद्यान्न र लत्ताकपडा रहेको सो राहत सामग्री फाया नेपाल र पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघको समन्वयमा कैलालीबाट धादिङ पठाइएको हो ।

युनिकका प्रोप्राईटर आलोक अग्रवालले नेपालका भूकम्प प्रभावितहरुलाई सहयोग गर्न चाहेको बताएपछि आफूहरुले समन्वयको भूमिका निर्वाह गरेको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले बताउनुभयो । उहाँका अनुसार राहत सामग्रीमा १ हजार थान त्रिपाल, १० हजार ५ सय किलोग्राम चामल, १ हजार ५ सय किलोग्राम दाल र ५ सय थान कम्बल रहेको छ ।

बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी सुदूरपश्चिम क्षेत्रीय प्रमुख डीआईजी खडानन्द चौधरी लगायतले राहत सामग्रीसहितको टोलीलाई धनगढीबाट विदाई गर्नुभयो । सो राहत सामग्री धादिङ जिल्लाका भूकम्प प्रभावितहरुलाई उपलव्ध गराईने जनाइएको छ ।

फायाका कार्यक्रम निर्देशक पाठकले आफ्नो संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थासंगको समन्वयमा धादिङमा रातह वितरण काम गर्दै आएको जानकारी दिनुभयो ।

पुस्तक तथा स्टेशनरी व्यावसायी संघका पूर्व अध्यक्ष सञ्जय चौधरीले पुस्तक व्यावसायी संघले संस्थामार्फत गोर्खामा १० टन खाद्यान्न सामग्री वितरण गरेको र राहतका लागि विभिन्न निकायसंग समन्वय गरिरहेको बताउनुभयो ।

यसैवीच फाया नेपालले डीसिएको सहयोगमा बुधबार धादिङको खरी गाविसका भूकम्प प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ ।
सो गाविसका १हजार २ सय घरपरिवारलाई १५ दिनसम्मका लागि खाद्यान्न सामग्री प्रदान गरिएको फायाका अध्यक्ष शेरबहादुर बस्नेतले जानकारी दिनुभयो । सो गाविसका भूकम्प प्रभावितहरुलाई चामल, दाल, नून, तेल, चिनी, कम्बल वितरण गरिएको उहाँले बताउनुभयो ।

खरीका भूकम्प प्रभावितलाई राहत प्रदान गरिएको छ, उहाँले भन्नुभयोे–अव नलागं, सलागं र मैदीका भूकम्प प्रभावितहरुलाई राहत सामग्री प्रदान गरिनेछ । डीसीएको डेढ करोड बराबरको खाद्य सामग्री र गैर खाद्य सामग्री वितरण गरिरहेको उहाँले बताउनुभयो।

बस्नेतका अनुसार राहत सामग्री वितरण पश्चात डीसिएको सहयोगमा खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्र र पुनःनिर्माणमा पनि काम गरिनेछ । भूकम्पबाट प्रभावित भएका सहयोग गर्ने हिडेको टोलीमा फायाका अध्यक्ष शेरवहादुर वस्नेत, पूर्व अयक्ष धनपति ढुंगेल, सदस्य विष्णुचन्द र मनोज पाण्डेय रहेका छन् ।