
महेन्द्रनगर, २४ वैशाख । कञ्चनपुरको पूर्वी क्षेत्र कृष्णपुर गाविस र झलारी पिपलाडी नगरपालिकाका १५ सामुदायिक वनले १३ हजार २ सय १६ हेक्टर वनलाई शून्य चरिचरन क्षेत्र घोषणा गरेका छन् ।
वनभित्र रहेको जैविक विविधता संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहले शून्य चरिचरन क्षेत्र घोषणा गरेका हुन् । कृष्णपुर गाविसका ११ सामुदायिक वन, देखतभूलि गाविसका २ र झलारी पिपलाडी नगरपालिकाका २ सामुदायिक वनले सामूहिक रुपमा शून्य चरिचरन क्षेत्र घोषणा गरेका हुन् ।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरको आयोजना र तराई भूपरिधि कार्यक्रम धनगढी कैलालीको सहयोगमा १५ सामुदायिक वनलाई शून्य चरिचरन क्षेत्र घोषणा गरिएको छ । जैविक विविधता खल्बलिए मानव जीवनमा समस्या पर्ने भएकाले जैविक विविधताको संरक्षणका लागि सामुदायिक वनलाई शून्य चरिचरन क्षेत्र घोषणा गरिएको सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म कञ्चनपुरका १६ सामुदायिक वन शून्य चरिचरन क्षेत्र घोषणा भएका छन् । वन क्षेत्रलाई शून्य चरिचरन घोषणा गरिएपछि उपभोक्तालाई बधुवा पशुपालन गर्न प्रेरित गर्ने कार्य भइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।
कृष्णपुरको गाविसको जयशंकर सामुदायिक वन, विशाल सामुदायिक वन, ऐश्वर्य सामुदायिक वन, नवदूर्गा सामुदायिक वन, अमरजीत सामुदायिक वन, ग्वालावारी सामुदायिक वन, दिपेन्द्र स्मृति सामुदायिक वन, विरेन्द्र सामुदायिक वन, जयलक्ष्मी महिला सामुदायिक वन, समैजी सामुदायिक वन र गडविजुली सामुदायिक वन शून्य चरिचरन क्षेत्र घोषणा भएका छन् ।
यस्तै, झलारी पिपलाडी नगरपालिकाका झिलिमिली सामुदायिक वन र सिद्ध बैजनाथ सामुदायिक वन तथा देखतभूलि गाविसका अपि सामुदायिक वन र समावेशी सामुदायिक वन शून्य चरिचरन क्षेत्र घोषणा भएका छन् । शून्य चरिचरन क्षेत्र घोषणा कार्यक्रममा बोल्दै ऐश्वर्य सामुदायिक वनका अध्यक्ष ढुण्डीराज भण्डारीले सामुदायिक वनका उपभोक्तालाई पशुपालन गर्न वैकल्पिक व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
सामुदायिक वनका महिला उपभोक्ता सचेत भएकाले चरिचरन नियन्त्रण भएको विशाल सामुदायिक वनका अध्यक्ष सुशिलादेवी शाहले बताउनुभयो । वन उपभोक्तालाई बधुवा पशुपालनमा सहयोग पु¥याउन कृष्णपुरको वाणीमा घाँस स्रोतकेन्द्र नर्सरी स्थापना गर्ने तयारी भइरहेको जिल्ला वन कार्यालय कञ्चनपुरका जिल्ला वन अधिकृत पशुपति कोइरालाले बताउनुभयो ।















प्रतिक्रिया