
– गोकर्णप्रसाद भण्डारी
चरिकोट (दोलखा), २३ वैशाख । गाउँमा भूकम्प जाँदा लापिलाङ गाविस–६ का बासिन्दा अमृतबहादुर थामी भारतको दार्जिलिङमा थिए । लामो समयदेखि दार्जिलिङमा मजदुरी गर्दै आएका थामी घरपरिवारको अवस्था थाहा पाउन मङ्गलबार मात्र गाउँ आइपुगेका हुन् । भूकम्पका कारण पाँच छोराछोरी र श्रीमतीको बिचल्ली देखेर उनी बेलाबेलामा भक्कानिन्छन् मात्र । तर गाउँका अन्यको अवस्था पनि आफ्नो जस्तै भएका कारण थामीले आफूलाई सम्हाल्दै आएका छन् ।
“छोराछोरी मरे बाँचेको थाहा पाउन आएको हुँ, गाउँमा त सबैको स्थिति उस्तै रहेछ,” बुधबार करेसाबारीमा टहरा बनाउँदै गरेको अवस्थामा भेट्टिएका थामीले भने – “यहाँ बस्नै नसकिने भयो, सहयोगका लागि कसलाई गुहार्ने ? सबैको हालत मेरो जस्तै छ ।” भूकम्प आएको बाह्र दिन बित्दा पनि थामी परिवारले त्रिपाल समेत पाउन सकेको छैन । उनले गाउँकै गुजरपा निमाविको कर्कटपाता प्रयोग गरी टहरा बनाएका छन् ।
“टहरा निर्माण गर्न कुनै उपाय भएन, भवन भत्किएकाले विद्यालयकै कर्कटपाता प्रयोग गरी ओत लाग्ने ठाउँ बनाएको छु,” उनले भने । विद्यालयको कर्कटपाता प्रयोग गरी बनाएको टहरामा अहिले तीन परिवारका २५ जना बस्दै आएका छन् । उनीहरुले भूकम्प आएदेखि कुनै पनि राहतको सामग्री नपाएको दुःखेसो पोखे । लापिलाङ–६ वडामा थामी समुदायको एक सय ६५ परिवार बस्दै आएका छन् ।
लापिलाङ–५ गोदुङकी दुर्गा थामी टहरामा एकसरो लुगामा भेट्टिइन् तर उनका तीन छोराछोरीको अवस्था पनि उनको जस्तै छ । भूकम्प आएपछि ज्यान जोगाउन भाग्दा घरभित्रबाट लुगाफाटो निकाल्नै भ्याएनन् । “लुगाफाटो सबै पुरिएकाले निकाल्नै सकिएन्, छोराछोरी नाङ्गै रहने भए,” थामीले भने – “खानबस्न त धौ धौ परिरहेको छ, लुगाफाटो कहाँबाट ल्याउनु ?” लुगाफाटो मात्र होइन अन्न समेत सबै घरभित्रै पुरिएकाले भोकभोकै बस्नु परिरहेको उनले बताए । भूकम्पपछि गाउँमा राहत सामग्री ल्याएर कोही पनि नआएको उनको गुनासो छ ।
सदरमुकाम चरिकोटबाट करिब ४० किलोमिटरको दूरीमा पर्छ लापिलाङ गाविस । यो थामी समुदायको बाहुल्यता रहेको गाविस हो । जिल्ला विकास समितिको तथ्याङ्क अनुसार लापिलाङमा एक हजार ४४२ घरधुरी रहेका छन् । यसमध्ये ५४ प्रतिशत थामी समुदायका बासिन्दाको बसोबास रहेको छ ।
भूकम्पपिछि यहाँको जमिन चिराचिरा परेको छ । घर त क्षतिग्रस्त बनेकै छ, तर जमिन समेत बस्नै नहुने गरी भाँसिएको अवस्था छ । घर भत्किनुका साथै जमिन भासिएपछि आर्थिक अवस्था कमजोर भएको थामी समुदायलाई अहिले मर्नु न बाँच्नु भएको छ । “यहाँ त अब बस्नै मिल्दैन, अन्यत्र बसाई सर्न पैसा छैन,” स्थानीय बासिन्दा रमेश थामीले भने – “सरकारले सुरक्षित ठाउँमा वसोवासको व्यवस्था मिलाइदिए हुन्थ्यो ।”
अशिक्षित र बेरोजगारीका कारण यहाँको थामी समुदायका मानिस रोजगारीका लागि भारत जाने गरेका छन् । भारतवाहेक अन्य मुलुकमा रोजगारीका लागि जान सक्ने स्थिति नभएको उनीहरु बताउँछन् । “दार्जिलिङ र आसामतिर गएर मदजुरी गरेको कमाइले बाँचेका छौँ,” भूकम्पपछि परिवारको स्थिति थाहा पाउन सोमबार मात्र घर फर्केका रमेशले भने ।
लापिलाङमा थामी समुदायकै जस्तै हविगत अन्यको पनि भएको छ । स्थानीय बासिन्दा राजेश पाण्डेयले राहत सामग्री नपाएको खबर पाएपछि दार्जिलिङको गुमभञ्ज्याङबाटै त्रिपाल बोकेर गाउँ फर्किए । तर श्रीमती र छोराछोरी घरमा भेट्टिएनन् । श्रीमती सवित्रा, एघार वर्षीय छोरा सुजन, आठ वर्षीया छोरी सुजाता तथा अर्का चार वर्षीय छोरा सुदिपलाई बोकेर राहत माग्न सदरमुकाम चरिकोट गएको थाहापाएपछि राजेश बेचैन छैन ।
“गाउँमा राहत दिन कोही आउने छाँटकाँट देखिन्न, म एक्लै बसेर भएन,” सदरमुकाम चरिकोट जान हतारिएका पाण्डेयले भने ।
भूकम्प आएको एघार दिनपछि लापिलाङ गाविस सचिव सुज्ञान भण्डारी गाउँमा त देखिए तर राहत सामग्री नल्याइकनै । डरैडरले गाउँ पसेका भण्डारीले पीडित परिवारलाई मङ्गलबारदेखि प्रति घरधुरी दुई हजार रुपैयाँका दरले राहत रकम बाँड्न थालेका छन् । “रकम लिन मानिरहेका छैनन्, पहिला राहत सामग्री देउ, अनि मात्र रकम भन्न थालेका छन्,” सचिव भण्डारीले भने – “राहत सामग्री नल्याइकन आउँदा असुरक्षित ठानिरहेको छु ।” थौरै राहत सामग्री लिएर गाउँ गएका सचिव लुटपाटमा परेको घटना सुनेर डराएका उनी रकम मात्र बोकेर आएका हुन् ।
लापिलाङ गाविसमा भूकम्पबाट तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । भूकम्पबाट जिल्लामा ५२ हजार घरधुरी प्रभावित बनेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार आठ हजार त्रिपाल मात्र जिल्लामा भित्रिएको अवस्था छ । यसमध्ये बुधबारसम्म चार हजार त्रिपाल जिल्लामा ढुवानी गरिसकिएको छ ।
स्थानीय प्रशासनले प्रति गाविसलाई ४०÷४० वटा त्रिपाल छुट्टयाएको थियो । न्यून त्रिपाल लिएर गाउँ गएका सचिव बाटोबाटै लुटिन थालेपछि अहिले त्रिपाल वितरण बन्द गरिएको छ । दोलखामा ४८ गाविस र दुई वटा नगरपालिका छन् । रासस















प्रतिक्रिया