२ कार्तिक २०८३, सोमबार

भूकम्पले खोस्यो साउदी सपना, तीन दिनपछि शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram-chapagayaeकाठमाडौं, २३ वैशाख । साउदी अरबको भिसा लागेपछि रामबहादुर चापागाई वैशाख ९ गते पर्वत, कटुवा चौपारी १ बाट अनगिन्ती सपना संगाल्दै काठमाडौं आइपुगेका थिए।
शुभ साइतको कामना गर्दै आमाले रातो टीका र दही खुवाएर उनलाई विदा गरेकी थिइन्। तर साउदी फ्लाइटको दिन कुर्दाकुर्दै गत शनिबार आएको भूकम्पले उनलाई संसारबाटै विदा गरेको छ।
नयाँ बसपार्कस्थित जनसेवा होटलमा बसेका थिए उनी। भूकम्पले होटल भत्किँदा उनी त्यहीँ पुरिए। घरसँगै उनका सपना पनि पुरिए। चापागाईंको शव भूकम्प गएको तीन दिनपछि मात्र भत्किएको होटलबाट नेपाली सेनाले निकाल्न सकेको थियो। उक्त होटल पर्वतकै व्यक्तिले सञ्चालन गरेकाले जिल्लाबासीको होटल उनको पहिलो रोजाइमा पर्यो। जिल्लाबासीसँगको आत्मियता अन्यभन्दा धेरै हुने पनि गर्छ।विदेशको प्रोसेस मिलाउनुपर्ने भन्दै चापागाई केही दिनअिघ नै काठमाडौं हान्निएका थिए। भूकम्प जाने दिनसम्म उनले काम पनि सकिसकेका थिए। मेनपावर कम्पनीले उनको साउदी उडान दुई दिनपछि सोमबारका लागि तय गरिदिएको थियो। तर उड्नुअघि नै उनी यो संसारबाट विदा भए। उनी र उनको परिवारको सारा सपना महाभूकम्पले चुँडाएको छ। साउदीमा आवश्यक सामानको किनमेल गरिरहेकै बेला आएको महाभूकम्पले उनलाई यो संसारबाट खोसेको छ।

घरको जेठो छोरा थिए उनी। परिवारको जिम्मेवारी पनि उनकै काँधमा बढी थियो। त्यसैले एसएलसी उत्तीर्ण हुनेबित्तिकै परिवारको आर्थिक गर्जो टार्न उनी भारत गएका थिए, मजदुरी गर्न। करिब ४ वर्ष दिल्लीमा मजदुरी गरेका २७ वर्षीय चापागाईलाई त्यहाँको कमाईले सन्तुष्टि दिएन। उनी फेरि घर फर्किए र वैदेशिक रोजगारीको लागि प्रयास गरे। १ वर्ष अघिमात्र उनी कतारबाट फर्किएका थिए। कतारबाट फर्किएपछि गाउँमै काम गर्दै आएका उनी दोस्रोपटक वैदेशिक रोजगारीका लागि उडान भर्ने तयारीमा थिए। तर त्यो सबै महाभूकम्पले पूरा हुन दिएन।

उनको परिवारमा आमा, बुबा र दुई भाइ छन्। ‘राम्रो काम छ भन्दै जानुभएको थियो,’ उनका भाइ भरतले भने, ‘तर आज यस्तो भयो, कमाउने दाई नै नभएपछि परिवार समस्यामा छ।’ साउदीमा स्टोर किपरको काम पाएको भन्दै उनी घरबाट हिँडेका थिए। स्टोरकिपरको काममा राम्रो कमाई हुने विश्वास उनले आमा, बुबालाई दिलाएका थिए। तर ती सबै कुरालाई भूकम्पले चकनाचुर बनाइदिएको छ।

उनी साथीहरुबीच पनि उत्तिकै प्रिय थिए। साथीहरु उनलाई रामू नामले बोलाउँथे। उनका साथी दिवाकर अधिकारीले भने, ‘अत्यान्तै मिलनसार र सरल साथी गुमाएमा छौं।’ मेहनती छोरा, प्रिय भाइ र गाउँका असल साथी रामबहादुरलाई गुमाउँदा गाउँ नै शोकमा डुबेको छ। उनलाई गुमाउँदा गाउँका मानिसहरुलाई सपनाजस्तै लागेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।