बर्दिया, २२ वैशाख । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धी भएको छ ।
मंगलबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा गैँडाको संख्य २९ रहेको छ । करिव ४ वर्ष अघि सन् २०११को गणनामा निकुञ्जमा गैंडाको संख्या २४ रहेका थियो । पछिल्लो गणनामा निकुञ्जमा ५ वटा गैँडा बढेका छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार हाल निकुञ्जमा वयस्क गैंडा २०, अर्धवयस्क ४ र ५ बच्चा गरी २९ गैंडा रहेका छन् । यसैगरी लिंग अनुसार ६ भाले, ९ पोथी र लिङ्ग छुट्याउन नसकिएका १४ वटा गैंडा रहेको तथ्याङ्कमा उल्लेख छ ।
यस पटकको गणनाबाट निकुञ्जमा पछिल्लो समयमा गैंडाको वास्तविक संख्या पत्ता लाग्नुका साथै गैंडाको अवस्था र वासस्थानका वारेमा धेरै जानकारी प्राप्त भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।
उनले भने, ‘गैंडा संरक्षणका चुनौतीहरु पत्ता लगाई व्यवस्थापनका लागि योजना बनाउनसमेत गणना कार्यले सहयोग गरेको छ ।’ गणनाका क्रममा कर्णाली तटिय क्षेत्र गैंडाको उपयुक्त बासस्थनाका रुपमा लिइएको छ ।
१६ औँ वन्यजन्तु सप्ताहको अवसर पारी यही बैशाख १ गतेदेखि निकुञ्जमा गैँडा गणनाको काम सुरु गरिएको थियो । एक सातासम्म चलेको गणनामा निकुञ्जका १७ हात्तीसहित ३० जनाको विशेषज्ञ प्रविधिकको टोली खटिएका थियो । निकुञ्ज क्षेत्रलाई ६ ब्लकमा विभाजन गरि गैँडा गणना गरिएको निकुञ्जले जनाएको छ ।
केही वर्षयता निकुञ्का विभिन्न स्थानहरुमा सेनाको पोष्टसमेत खडा गरि निकुञ्जको सुरक्षा चुस्त पारेपछि चोरी सिकारका शुन्यप्रायः भएकाले निकुञ्जमा गैँडाको संख्यामा वृद्धि हुँदै गएको निकुञ्जको दाबी छ ।
एक वर्ष यता निकुञ्ज क्षेत्रसंग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रका युवाहरु ‘चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान’ अन्र्तगत संगठित भएर निकुञ्जको सुरक्षामा लाग्नुले पनि गैंडाको संरक्षणमा ठुलो टेवा पुगेको संरक्षणकर्मीको भनाई छ ।
















प्रतिक्रिया