बनेपा, २२ वैशाख । गत वैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पबाट क्षति भएको प्राइम एफएम १०४.५ मेगाहर्जको टावर रहेको घरको पुनर्निर्माणका लागि काभ्रेली सञ्चारकर्मीहरुले श्रम सहयोग गर्ने भएका छन् ।
मंगलबार बसेको प्रेस चौतारी काभ्रेको बैठकले महाभूकम्पमा परी ज्यान गुमाउनेलाई श्रद्धाञ्जली, घाइतेहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडितलाई उद्धार र न्यायोचित राहत पुर्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सँगै सञ्चारकर्मी आफै पनि पीडामा रहेकोले सकेसम्म सञ्चारकर्मीसँगै पीडितलाई उद्धार र राहतमा पनि सहयोग गर्ने र जिल्लाबाटै प्रशारण भइरहेको प्राइम एफ एमको क्षतिमा सहयोग पुर्याउन पत्रकारले आर्थिक सहयोग नसके पनि प्रेस चौतारी सम्वद्ध सबै पत्रकारहरुले घर पुनर्निर्माणमा सक्रिय भएर श्रम सहयोग गर्ने निर्णय गरेको चौतारी काभ्रेका अध्यक्ष नवराज बजगाईले बताउनुभयो ।
भूकम्पबाट प्राइम एफएमको टावर रहेको घर भत्केको र उपकरणसहित ५ लाख बराबरको क्षति भएको छ । जिल्लामा क्रियाशील सय भन्दा बढी पत्रकारहरुको घर लडेको जनाउँदै प्रेस चौतारी काभ्रेले चौतारी आवद्ध ६० जना पत्रकारहरुको घर क्षति भएको जनाएको छ ।
पीडित पत्रकारहरुलाई राज्यका तर्फबाट तत्काल राहत उपलब्ध गराउन माग गर्दै चौतारी आफैले पनि आफ्ना सदस्यहरुलाई सहयोगका कार्यक्रम ल्याउने पनि अध्यक्ष बजगाईले बताए ।















प्रतिक्रिया