काठमाडौँ, २२ वैशाख । भूकम्पपीडितका लागि आएको पाल बेचिएका हल्ला चलेकाले त्यसको छानबिन गरी कारबाही गर्न नेपाल विद्यार्थी सङ्घले सरकारसँग माग गरेको छ ।
राहतका लागि आएको पाललगायतका सामग्री नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले बेचेको अफवाह फैलाएकाले त्यस्तो कार्य गरेको भए सप्रमाण केन्द्रीय कार्यालयमा खबर गर्न सङ्घले अपिल गरेको हो ।
सङ्घले आज सार्वजनिक सञ्चारमाध्यमका प्रतिनिधिसित छलफल गरी यस्तो जानकारी गराएको हो । सङ्घका अध्यक्ष एवम् सभासद् रञ्जित कर्णले कुनै संस्थालाई आरोप लगाउनुअघि त्यसको प्रमाण दिइनुपर्ने बताउनुभयो ।
“सङ्घको गरिमामय इतिहासलाई कलङ्कित गर्ने गरी आरोप लगाइएको छ, यसको पुष्टि भएमा जुनसुकै तहको कार्यकर्तालाई पनि कारबाही गर्न तयार छौं, सरकारले पनि मानवीय संवेदनाको घडीमा गलत क्रियाकलाप गर्नेलाई छानबिन गरी कारबाही गरोस्, सङ्घले गलत गरेको प्रमाणित नभएमा हल्ला चलाउनेलाई सरकारले कारबाही गरोस्”, उहाँले भन्नुभयो ।
बिना प्रमाण संस्थाको मानहानी हुने गरी हल्ला नफैलाउन र मानवीय संवेदनाका समयमा अफवाह फैलाएर कसैको चरित्र हत्या गर्ने काम बन्द गर्न पनि अध्यक्ष कर्णले आग्रह गर्नुभएको छ । रासस















प्रतिक्रिया