२९ आश्विन २०८३, बिहिबार

भारतमा विद्रोहीको आक्रमण, आठ सैनिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Isi-ladakuगुवाहाटी (भारत), २२ वैशाख । भारतको उत्तरपूर्वी दुर्गम भागमा अर्धसैनिक एक समूहमाथि सशस्त्र पृथकतावादी विद्रोहीले गरेको छापामार आक्रमणमा आठ सैनिकको मृत्यु भएको तथा अन्य छ घाइते भएको जानकारी अधिकारीहरूले सोमबार दिएका छन् ।

म्यानमारसँगको सीमानजिकै रहेको अविकसित नागाल्यान्डमा आइतबार लडाकूहरूले अर्धसैनिक समूहमाथि गोली प्रहार गर्नाका साथै एक सानो बम विस्फोट गराएको उक्त राज्यका प्रहरी प्रमुखले बताए ।

नागाल्यान्डका प्रहरी प्रमुख एलएल दौङ्गेलले आठ सैनिकको घटनास्थलमै मृत्यु भएको तथा अन्य छ व्यक्ति गम्भीर रूपमा घाइते भएको बताउनुभयो ।

असम राइफलका अन्य चार सैनिक अझै हराइरहेको र उक्त क्षेत्रमा खोजी कार्य भइरहेको बताइएको छ । घटना राज्यको केन्द्र कोहिमाबाट २०० किलोमिटर उत्तरमा भएको एक अधिकारीले बताए ।

प्रहरीले उक्त आक्रमण प्रतिबन्धित नेसनल सोसियलिस्ट काउन्सिल अफ नागाल्यान्डले गराएको आशङ्का गरेको छ । यो समूह दशकौँदेखि आदिवासी नागा समुदायका लागि पृथक गृहराज्य स्थापना गर्ने अभियानमा रहेको छ ।

गत महिना यस काउन्सिलका एक समूहले नयाँ दिल्ली आफ्नो आन्दोलनको माग पूरा गर्नेतर्फ गम्भीर नभएको आरोप लगाउँदै उनीहरूले गरेको युद्धविराम फिर्ता लिएको थियो ।

उक्त अर्धसैनिक समूह नजिकैबाट खानेपानी लिएर दुई गाडीमा फर्किरहेको अवस्थामा उक्त आक्रमण भएको प्रहरी प्रमुखले बताउनुभयो ।

दौङ्गलले सैनिकले पनि प्रतिकारमा गोली प्रहार गरेको र लडाकूको पक्षमा कुनै क्षति भएको विषयमा थाहा हुननसकेको बताउनुभयो ।

उहाँले उक्त स्थानमा रहेको घना वन क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरिएको बताउनुभयो ।

भारतको उत्तरपूर्वी सात राज्य विद्रोही हिंसाबाट प्रभावित छन् । त्यहाँ दर्जनौँ आदिवासी समूह तथा साना छापामार लडाकू समूह क्रियाशील छन् र उनीहरूले नयाँ दिल्लीको शासनको प्रतिरोध गरेका छन् र कहिलेकाँही एकअर्कासँग पनि सङ्घर्ष गरेका छन् । रासस/एएफपी