गौशाला, २२ वैशाख । महोत्तरीको जलेश्वरमा आज एक भतिजले आफ्नै काकामाथि तेजाब प्रहार गर्दा काका गम्भीर घाइते भएका छन् ।
जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय अजय साहले आफ्नै काका ५५ वर्षीय सत्यनारायण साहको टाउको, अनुहार, छाती र शरीरको अन्य भागमा तेजाब प्रहार गर्दा उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जलेश्वर–२ स्थित महेन्द्रचोकदेखि शङ्करचोक जाने बाटोमा महोत्तरी क्लबको अगाडि सत्तु पसल सञ्चालन गर्दै आएका काका सत्यनारायणलाई आज बिहान १० बजेको समयमा भतिज अजयले शरीरभरि तेजाब खन्याइदिँदा उनी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभएको छ ।
तेजाब प्रहारबाट गम्भीर घाइते भएका सत्यनारायण साहलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।
सत्यनारायण साहको घरमा भाई गौरीशङ्कर साहसँग जग्गासम्बन्धी विवाद चल्दै आएकामा आज बिहान भाइ गौरीशङ्कर र निजका छोरा (भतिज) अजय दुवै जना सत्यनारायण सत्तु पसलमा बसिरहेका बेला आएर गालीलगौज र कुटपिट गरेका थिए भने सोही क्रममा भतिजले काका सत्यनारायणमाथि तेजाब प्रहार गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
अजयको तेजाब प्रहारबाट सोही ठाउँमा झगडा मिलाउन गएका जलेश्वर–५ बस्ने सुशील साह, राकेश साह, जलेश्वर १३ बस्ने कमलेश ठाकुर तथा अन्य नाम नखुलेका थप चारजना गरी सात जना सामान्य घाइते भएका छन् ।
यता प्रहरीले तेजाब प्रहार गर्ने अजय साह र निजका बुबा गौरीशङ्करलाई तत्काल घटनास्थलबाटै पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी लगेको छ । रासस















प्रतिक्रिया