२ कार्तिक २०८३, सोमबार

म बस्ने घर पनि पुरै चर्केको छ, नपत्याए हेर्न आउनुस्ः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koiralaसिन्धुपाल्चोक, २२ वैशाख । महाभूकम्पको ११ औं दिन प्रधानमन्त्री सुशील कोइराला मुख्य प्रभावित जिल्ला सिन्धुपाल्चोकको निरीक्षण भ्रमणका लागि चौतारा आएका छन्। सोमबार दिउँसो २ बजे प्रधानमन्त्री कोइराला हेलिकोप्टरबाट चौतारा ओर्लिएका हुन्।

चौताराको निरीक्षणपछि उनले जिल्लास्थित सुरक्षा निकाय तथा दैवी प्रकोप उद्धार समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन्। छलफलमा क्रममा उनले विपत्त व्यवस्थापनमा जिल्लास्थित सुरक्षा निकाय र प्रशासनिक निकायका अधिकारीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै उक्त भूमिकाको प्रशंसा गरे। साथै पीडितहरुको उद्धारमा उच्च मनोबलका साथ कुनै कसर बाँकी नराखी काम गर्नसमेत निर्देशन दिए। ‘नेपालको स्रोत साधन विपत्त व्यवस्थापनमा पर्याप्त छैन,’ प्रधानमन्त्री कोइरालाले भने, ‘तर पनि स्रोत साधन र बुताले भ्याएसम्म उद्धार कार्यमा हामी कुनै कसर बाँकी राख्दैनौं।’

नेपालको आफ्नो स्रोत साधनले नपुगेको अहिलेको अवस्थामा विपत्त व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदाय गुहारेर भए पनि छुट्टै कोष खडा गर्नुपर्ने उनको भनाई थियो।

निरीक्षण भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालाले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुसँग पनि छलफल गरे। दलका प्रतिनिधिहरुले राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्री कोइरालाले यो विपत्तले सबै नेपालीलाई पीडा दिएकाे प्रतिक्रिया दिए। ‘म बस्ने घर पनि पूरै चर्किएको छ,’ उनले भने, ‘नपत्याए हेर्न आउनुहोस् ।’ महाभूकम्पले सबै नेपालीलाई पीडा दिएको भन्दै उनले विपत्ती सहनै परेको बाध्यता सुनाए। सिन्धुपाल्चोकबासीलाई समेत उनले भूकम्पको पीडाबाट आहत नबनी आएको राहत लिँदै धैर्यधारण गरी उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरे।

प्रधानमन्त्री कोइराला सोमबार नै चौचाराबाट तिब्बती सीमा क्षेत्रमा पर्ने सिन्धुपाल्चोकको लिस्ति गाविसमा निरीक्षण भ्रमणका लागि जाने र सोमबार नै हेलिकोप्टरबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।