
ओखलढुंगा २१ वैशाख । शनिबार र आइतबारको भूकम्पले ज्यान गुमाउने र घरबारविहीन हुनेको संख्या थपिँदै जाँदा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय, ओखलढुंगामा बसिरहेको थियो ।
जिल्लामा रेडक्रससँग दुई सय थान पाल बाहेक तत्काल राहत दिने रामग्री थिएन । बैठक चलिरहेको बेला काँग्रेस जिल्ला सभापति प्रदिपकुमार सुनुवारले जुरुक्क उठेर भन्नुभयोे– ‘सिडिओ साब हेलिकोप्टर कहाँ राख्ने ? काठमाडौबाट उडिसक्यो’ उहाँले जिल्लामा सभाषद् रामहरी खतिवडाको अगुवाइमा ठूलो हेलिकोप्टर आउन लागेको बताएपछि उद्धार कसरी गर्ने भनेर चिन्तित बैठकका सहभागि सबैको चेहेरा उज्यालो भयो ।
हेलिकोप्टरबाट क्षतिबारे बुझ्न पश्चिमी गाविस खिजीफलाटे, रगनी जानुपर्ने बताएपछि हेलिकोप्टरमा को को जाने भनेर विवाद चल्यो, सुनुवारले आफु स्थानीय पनि भएकोले आफु जानु पर्ने जिकिर गर्नुभयो । गाउँ जान निर्देशन पाएका सचिव तथा अन्य सरकारी तथा गैरसरकारी क्षेत्रको टोली समेत हेलिकोप्टर आउने कुरेर बसे ।
खिजीफलाटेका प्राविधिक सहायक लोकबहादुर घिसिङलाई सुनुवारले झोलासहित सगरमाथा जनता उच्च माविको मैदानमा आउन भनियो । राहत वितरण तथा तथ्यांक संकलनका लागि खटिन लागेका अरु दुई टोली पनि रोकिए ।
‘दिनभर हेलिकोप्टरको प्रतिक्षा गारियो, आएन’ घिसिङले भन्नुभयो । हेलिकोप्टर भोलिपल्ट समेत आएन न त टोली प्रभावित क्षेत्रमै खटियो । तत्काल राहत तथा उद्धारको काम गर्नुपर्ने अवस्थामा हेलिकोप्टर कुर्दा दुई दिन केही हुन सकेन् ।
१२ बैशाखमा आएको भूकम्पमा राहत तथा उद्धारमा जुट्नु पर्ने राजनीतिक पार्टीहरु सुरुमै यसरी शक्ति प्रर्दशनको होडमा उत्रिए । दुई दिनपछि नेपाली सेनाको हेलिकोप्टरबाट रुम्जाटार झारिएका त्रिपालमा क्षेत्र नं. १ का एमाले सभाषद् यज्ञराज सुनुवार र क्षेत्र नं. २ का कांग्रेस सभाषद् रामहरि खतिवडाबीच आ–आफ्नो क्षेत्रमा कसले बढी लैजाने भन्नेमा होडबाजी चलेको स्थानीयहरु बताउँछन् । दुबैबीच यो होडबाजी बढ्दै गएपछि त्रिपाल झारेर उनीहरु काठमाडौ फर्किएपछि सुटुक्क आ आफ्नो निर्वाचान क्षेत्रतिर लागेका थिए ।
स्थानीयबासीका अनुसार भुकम्पले बढी क्षति पु¥याएको ओखलढुंगाको पश्चिमी भागमा सभाषद् रामहरि खतिवडाले मोरङबाट प्रशासन र व्यापार संघले जिल्ला पठाएको पाललाई पश्चिमबाटै कब्जा गरेर आफैले बाँडेका थिए । संस्थागत रुपमा आएको राहत व्यक्तिगत रुपमा बाँडेको प्रचार गरेको एमाले लगायत अन्य दलहरुले आरोप लगाएका छन् ।
सभाषद् खतिवडाले भने आफुले त्यस्तो कुनै प्रचारबाजी नगरेको दावी गर्नुभयो । खतिवडाले भन्नुभयो–‘मैले पीडित क्षेत्रका जनतालाई राहत वितरणका लागि संयोजन मात्रै गरेका हुँ कुनै दलगत कुरा गरेको छैन् । जति पनि राहत तथा पाल वितरण त्यो स्थानीय स्तरमा सर्बदलीय संयन्त्रमार्फत भएको छ, मैले पार्टीको ब्यानर प्रयोग गरेका छैन् ।’
यद्यपी खतिवडाले व्यक्तिगत हिसावमा भन्दै प्रति मृतक परिवार पाँच हजारका दरले रकम बाँडेको बताउनुभयो । क्षेत्र नंंं. १ का एमाले सभाषद यज्ञराज सुनुवारले पनि विपद्को बेलामा राजनीति गर्नु आवश्यक नभएको बताउनुभयो । सुनुवारले राहत वितरणमा क्षेत्र नं. २ का सभाषद् खतिवडाले सहकार्यमा गरेको कामलाई मिडियामा गलत प्रचार गर्दै एक्लैले गरेको अभिनय गर्दै हिडेको आरोप लगाउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा जनताको सुखदुख बुझ्न आफु पहिलो पात्र भएर गएको दावी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भूकम्पमा परि निधन भएका प्रति परिवार पाँच हजार एक सयका दरले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।
राहतको राजनीति यतिमा मात्र सकिएन, पाल लिएर सदरमुकामबाट श्रीचौर, खिजीफलाटे लगायतका गाविसका लागि जान लागेको नेपाली सेनाको स्काइ भेनमा समेत को को नेता जाने भन्नेमा भनाभन भयो । एमाओवादी कोषध्यक्ष चम्पा कार्कीले काँग्रेस सभापति सुनुवारलाई राहतमा राजनीति नगर्न सुझाव दिँदा अश्लील शब्द बोलेको गुनासो गर्नुभयो ।
पाल लिन आएको स्काइ भेनमा सुनुवार चढेर वितरण गर्न जान लागेपछि एमाले सभाषद् हर्कबोल राई र कांग्रेस सभापति प्रदिप सुनुवारबीच चर्काचर्की नै प¥यो । सभापति सुनुवार आफ्नो गाउँमा हेलिकोप्टरबाटै जानु पर्ने अड्डी लिएपछि सभाषद राई समेत पाल ओसार्ने हेलिकोप्टरबाटै १९ गते प्रभावित क्षेत्रमा जानुभयो । जिल्लामा दुई तीन घर बराबर एक पाल वितरण गर्न समेत राजनीति चलिरहेको छ ।
यता एनेकपा माओवादीका जिल्ला अध्यक्ष बाबुराम गौतमले भने काँग्रेस एमालेका सभाषद्बीच जसलिने होडबजी चलेको आरोप लगाउनुभयो । गौतमले भन्नुभयो– ‘राहत तथा उद्धारमा सबै एकसाथ जुट्नु पर्नेमा सभाषद् खतिवडा र सुनुवार त्यस्तो होडबाजीमा लाग्नुभएको छ, त्यो राम्रो होइन । आलोचना भएपछि सुनुवारले आफुलाई सम्हाल्नु भयो तर काँग्रेसका खतिवडाले भने सरकारी राहत व्यक्तिगत रुपमा दिएको प्रचार गरिरहनु भएको छ ।’
एमालेले काँग्रेसले पार्टीले राहत दिएको भनेर क्षेत्र नं. २ खतिवडाले प्रचार गरिरहेको आरोप लगाएको छ । जिल्लामा भूकम्पमा परि १९ जनाले ज्यान गुमाएका छन् भने ९२ घाइते भए । भूकम्पले ८ हजार ८४ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने ९ हजार ८ सय ९० घर बस्न नहुनुे गरी क्षति भएका छन् । स्वास्थ्य चौकी, विद्यालय, प्रहरी कार्यालय, गाविस भवन गरी ८३ सरकारी कार्यालयमा समेत क्षति पुगेको छ ।
अहिले १७ हजार भन्दा बढी घरपरिवार घरबार विहीन भएका छन् । जिल्लामा हालसम्म ५ हजार २ सय ३३ थान पाल आए पनि अरु थप १५ हजार पाल आवश्यक भएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो । ‘यहाँ अझै १५ हजार परिवारलाई पाल पुगेको छैन, माग गरिरहेका छौ’ भट्टराईले भन्नुभयो ।
भूकम्प पीडितहरुले भने नेताहरुले गरेको राहतको राजनीति देखेर आक्रोशित भएका छन् । राहत सामग्री जिल्ला ल्याउने पहल गर्नु भन्दा सरकारले दिएको राहतमा लुछाचुडी गर्नु लाजमर्दो भएको भूकम्पले घरबारबीहीन भएकी बरुणेश्वरीकी बृद्धा सुजी माझी विकले बताउनुभयो ।















प्रतिक्रिया