
महेन्द्रनगर, २१ वैशाख । गत शनिवार काठमाडौंमा आएको भूकम्पबाट बाँच्न सफल कञ्चनपुरका युवाहरुले जन्मथलो पुगेर राहत संकलन गरेका छन् ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरका टंक चन्द, शंकर धामी र प्रकाश विष्टले अग्रजहरुको नेतृत्वमा राहत संकलन गरेका हुन् । महेन्द्रनगरका स्थानीय शिक्षक दिपेन्द्र चन्दको नेतृत्वमा युवाहरुको सुदूरपश्चिम समाजले जन्मथलोमा राहत संकलन गरेको बताएका छन् ।
काठमाडौंबाट बाँचेर जन्मथलो पुगेका युवाहरुले संकलन गरेको राहत सामग्री भूकम्प पीडितका लागि सोमबार राजधानी काठमाडौं पठाएका छन् । सिन्धुपाल्चोक र दोलखाका भूकम्प पीडितका लागि उक्त सामग्री काठमाडौं पठाइएको सुदुरपश्चिम समाजका संयोजक दिपेन्द्र चन्दले बताए ।
उनका अनुसार समाजले ३ वटा बसमा ३६५ वटा त्रिपाल, ९९ बोरा चामल, ५० पेटी पानी र १२ पेटी चाउँचाउँ काठमाडौं पठाएको हो । कञ्चनपुरबाट काठमाडौं पठाइएको राहत सामग्री सुदूरपश्चिम समाजका सदस्यले संयुक्त रुपमा सिन्धुपाल्चोक र दोलखाका भूकम्प पीडितलाई बाँड्ने कार्यक्रम रहेको संयोजक चन्दले जानकारी दिए ।
सो राहत संकलन कार्यमा एनआईसी एशिया बैंक शाखा महेन्द्रनगरका प्रमुख सुरेन्द्र सिंहको पनि महत्वपूर्ण सहयोग रहेको थियो । भूकम्प पीडितलाई केही हदसम्म भएपनि सहयोग गर्न राहत सामग्री संकलन गरी पठाएको चन्दको भनाई छ ।
उनका अनुसार सदरमुकाम महेन्द्रनगर बीच बजारमा स्टल राखेर माइकिङ गर्दै राहत संकलन गरिएको थियो । उनले नगद आर्थिक सहयोग एक रुपैयाँ पनि संकलन नगरिएको स्पष्ट पारे । उक्त राहत सामग्री काठमाडौंबाट मंगलबार भूकम्प प्रभावित क्षेत्रमा लगिनेछ ।















प्रतिक्रिया