काठमाडौं, २१ वैशाख । शैक्षिक शुल्क नबुझाएको भन्दै राजधानीको बालाजुस्थित गंगा चलचित्र भवनसँगै रहेको होली भिजन स्कुलले विद्यार्थीलाई बन्धक बनाएको खुलासा भएको छ ।
होली भिजन स्कुलका प्रिन्सिपल किरण प्रधानले महाभारतमा गुरु दोर्णाचार्यले धनुरधर एकलब्यको औला गुरुदक्षिणा माग गरे भन्दा बढी दानविय व्यवहार प्रदर्शन गर्दै एकै घरका दाजु–बहिनीलाई स्कुलको शुल्क नबुझाएको भन्दै स्कुलमै बन्धकशैलीमा राखेको जानकारीमा आएको हो ।
७–८ महिनादेखि उक्त स्कुलमा अध्ययनरत बिजेश कुँवर (कक्षा ६) र बिजिसा कुँवर (कक्षा ५)लाई ‘बन्धक’ शैलीमा स्कुलमा राखिएको खुलेको छ । बाबु आमाले स्कुल फि नतिरीदिएको भन्दै होली भिजन स्कुलका प्रिन्सिपल प्रधानले ती विद्यार्थी दाजु–बहिनीलाई ‘बन्धक’ बनाएका हुन् ।
आर्थिक अवस्था बिग्रीएपछि ७ महिना यता उनीहरुका बुबा–आमाको अत्तोपत्तो छैन । तर, स्कुलले अहिलेसम्मको बिल भु्क्तानी नगरेसम्म दुबै बच्चालाई नछाड्ने बताइरहेको छ ।
बच्चाबच्चीकी ठूली आमा शोभा घिमिरेले आफू पटक पटक स्कुलमा बच्चा लिन जाँदा शुल्क बुझाएर मात्र लान मिल्ने प्रिन्सीपलले बताउने गरेको जानकारी दिइन् ।
‘उनीहरुका बुबा-आमा आर्थिक अवस्था बिग्रेका कारण सम्पर्क विहीन छन्, आफ्नै बहिनीका सन्तान भएकाले माया लागेर भेट गर्न जाँदा पनि स्कुलले भेट गर्न समेत दिँदैन’, उनले भनिन्, ‘पैसा तिरेर ल्याउने मेरो पनि आर्थिक हैसियत छैन ।’
पाँच–सात हजार भए तिरेरै ल्याउँछु भनेर गएको तर स्कुलले एक लाख माग गरेको बच्चाहरुकी ठूली आमा शोभा घिमिरेले बताइन् । ‘यतीका दिनसम्म बन्धकजस्तै बनाउँदा उनीहरुको मनोभावनामा कस्तो ठेस पुग्यो होला ?’ उनको दुःखेसोपूर्ण प्रश्न थियो, ‘झन् यो भुकम्पको अवस्थापछि उनीहरु कति आत्तिएका होलान् ?’
सोमबार ठूली आमा घिमिरेले बालाजु प्रहरी वृत्तमा घटना बारे जानकारी गराएर प्रहरी सहित होली भिजन स्कुल पुग्दा पनि प्रिन्सिपल किरण प्रधानले शुल्क नबुझाएसम्म विद्यार्थीलाई नछाड्ने बताएपछि त्यसै फिर्ता भएको बुझिएको छ । ‘प्रहरीबाट पनि खासै सहयोग पाइएन,’ घिमिरेले भनिन्, ‘बच्चाहरु थुनेरै पैसा आउने भए, थुनिराखोस् ।’
‘प्रहरीसँग म स्कुलमा पुग्दा बच्चाहरु अत्तालीएको अवस्थामा थिए,’ उनले भनिन्, ‘शरिरको जताततै घाउ नै घाउ आएको, खान पनि राम्ररी पाएजस्तो लागेन ।’ ‘निकै अत्तालिएर होला बच्चाहरुले आफूहरुलाई स्कुलबाट निकाल्न आग्रह गरिरहेका थिए तर, उनीहरुकी ठूलो ममी भए पनि मेरो त्यहाँ केही लागेन,’ उनले भनिन् ।
यस विषयमा स्कुलका प्रिन्सिपलसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । प्रहरीले पनि यो घटनामा कुनै चाँसो नखाएको पीडितको गुनासो छ ।















प्रतिक्रिया