सर्लाही, २१ वैशाख । विवाह गरेर सँगै जीवन बिताउन नपाउने भएपछि सर्लाहीको कर्मैयास्थित एक जोडीले आत्महत्या गरेका छन् । कर्मैया गाविस–५ निवासी २५ वर्षीय लक्ष्मण भण्डारी र १७ वर्षीया सुस्मिता सुनुवारले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख यज्ञनन्द साहका अनुसार भण्डारीको एक छोरा र श्रीमती पहिले नै भएकाले सुनुवारसँग वैवाहिक सम्बन्ध कायम गर्न नपाउने अवस्था आएपछि दुवैले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भण्डारी र सुनुवार केही महिनाअघि नै घरबाट भागेर ललितपुरको लुभूमा बस्दै आएका र आइतबार साँझ सर्लाही आई कर्मैया गाविस–३ जङ्गली टोलस्थित एक रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । दुवैलाई झुन्डिएको अवस्थामा आज बिहान स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस















प्रतिक्रिया