फलेवास (पर्वत), २१ वैशाख । विनाशकारी भूकम्पका कारण पर्वत जिल्लामा धेरै भौतिक संरचना क्षति भएपछि सर्वसाधारणलाई चर्केको घाउमा मलम लगाउनका लागि नेकपा (एमाले) पर्वत गाउँ अभियानमा जुटेको छ ।
भूकम्पले क्षतिग्रस्त गाउँमा राहत सामग्री वितरण अभियानमा जुटेको एमालेले आइतबार कुश्मा नगरपालिका वडा नं ४ र ५ खुर्कोटमा राहत सामग्री वितरण गरेको छ ।
स्थानीय २० जना पीडित परिवारलाई त्रिपाल वितरण गरिएको एमाले पर्वतका अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो । सो अवसरमा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गणेश तिमिल्सिना र एमाले पर्वतका अध्यक्ष गिरी, र कुश्मा नगर कमिटीका अध्यक्ष रुद्र गिरीले त्रिपाल हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सिनाले यस्तो विपत्तिका बेला पीडितको सहयोगका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले विपत्तिमा परेकालाई राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिँदै तिमिल्सिनाले पीडितलाई रु पाँच लाखसम्म उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
यसैबीच, नेकपा (एमाले) ले शनिबार तिलाहार गाविस–९ थामार्जुङमा १८ परिवारका लागि पहिलो चरणमा त्रिपाल बाँडेका थिए । एमालेले ३०० भन्दा बढी पूर्णरुपमा क्षतिग्रस्त घरधुरीका लागि त्रिपालको व्यवस्था गर्ने जनाएको छ ।
पहिलोचरणअन्तर्गत ६० थान त्रिपाल उपलब्ध भएको र अन्य परिवारलाई क्रमशः वितरण गर्दै जाने बताइएको छ । रासस















प्रतिक्रिया