काठमाडौँ, २१ वैशाख । कतार सरकारले काभ्रेपलाञ्चोकका भूकम्पपीडित ३०० परिवारलाई राहत सामग्री प्रदान गरेको छ ।
कतारी रेड क्रिसेन्टमार्फत उक्त जिल्लाका पीडितलाई चामल, दाल, चिनीलगायत सामग्री वितरण गरेको यहाँस्थित कतारी दूतावासले जनाएको छ ।
कतार सरकारले उपलब्ध गराएको ११ टन खाद्य सामग्री भूकम्प प्रभावित अन्य जिल्लामा उपलब्ध गराउने उक्त दूतावासले आज एक प्रेस विज्ञप्तिमार्फत बताएको छ ।
नेपाल रेडक्रस सोसाइटीको सहयोग र समन्वयमा राहत सामग्री वितरण गरिएको र बालबालिकालाई भूकम्पबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जानकारीमूलक पुस्तिका प्रदान गरिएको थियो ।
साथै कतार फुटबल स्टार्स लिग फुटबल फाउन्डेसनले कतार कप प्रतियोगिताको टिकट बिक्रीबाट सङ्कलन भएको रकममध्ये २५ प्रतिशत नेपालका भूकम्पपीडितलाई उपलब्ध गराउने जानकारी दूतावासलाई दिएको विज्ञप्तिमा उल्लेख छ । रासस















प्रतिक्रिया