बिर्तामोड, २१ वैशाख । भारतका चर्चित पत्रकार शेखर गुप्ताले सामाजिक सञ्जालमा ट्वीट गर्दै भारतीय मिडियाले नेपाललाई भारतकै प्रान्तको रुपमा प्रचार गरेको भनेका छन् ।
नेपालमा गएको भूकम्पमा भारतीय मिडियाले निर्वाह गरेको भूमिकाबारे सयौंले ट्वीट गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपालमा गएको विनाशकारी महाभूकम्पमा भारतीय मिडियाले गरेको प्रचारको सर्वत्र आलोचना भएको छ ।
भारतकै विश्वासिला सञ्चार संस्थाको भारतबाटै पर्याप्त आलोचना हुनु भारतीय सञ्चार संस्थाका लागि राम्रो प्रतिफल भएको छैन । गत शनिबार गएको भूकम्पपश्चात् भारतीय मिडियाले पुर्याएको सहयोग प्रशंसनीय भनिएपनि नेपालमा चित्त बुझाउने अवस्था छैन् । सबैले पछिल्लो समय भारतीय मिडियाले दादागिरी गरेको बताएका छन् ।
भारतले भूकम्प पीडितका लागि आर्थिक तथा भौतिक सहयोग गर्यो । यसरी सहयोग गर्ने दर्जनौं राष्ट्र यतिबेला नेपालमा राहत र उद्दारमा पनि खटिएका छन् । तर, भारतले राहतसँगै नेपालमा देखाएको वास्तविक तस्वीरप्रति सन्तुष्ट हुने ठाउँ छैन् । नेपाल शोकमा डुबेको छ । नेपाल कसैलाई सम्झाउने–बुझाउने भन्दा पनि राहत र उद्दारमा व्यस्त छ । हजारौं नेपालीको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् । विस्थापित हुनेहरुको संख्या पनि उत्तिकै छ । नेपालमा महासंकट परेका बेला भारतीय मिडियाले नेपाली भूमिमा रजाइँ गरेपछि भारतका चर्चित व्यक्तित्वहरुले आफ्नै देशको मिडियालाई गाली गरेका छन् ।
भारतबाट राहत र उद्दारमा सहयोग भएको छ । भारतका वरिष्ठ पत्रकार बिनोद मेहताले ट्वीटमार्फत् लेखेका छन् –‘भारतीय पत्रकारले नेपालमा मोदीको प्रचार गर्दै हेलिकप्टरमा आनन्दको यात्रा गरे’, उनले अर्को ट्वीट गरेका छन्–‘हामो देशका जवानले नेपालमा धेरै मेहनत गरी मद्दत गरे तर यी निकम्मा भारतीय पत्रकारले हाम्रो देशले गरेको सेवा पूरै माटोमा मिलाइदिए ।’
भूकम्पमा पीडित बनेको नेपालका बारेमा समाचार सम्प्रेषण गर्न भारतीय टेलिभिजन आज तक, एबीपी न्यूजलगायत विभिन्न सञ्चारसंस्थाका २०० भन्दा बढी पत्रकार भित्रिए । उनीहरुले भूकम्प पीडित भन्दा पनि नेपालको बेइज्जत गरिरहेको भन्दै नेपालीहरुले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
नेपाली पत्रकार उज्ज्वल आचार्यले आफ्नो ट्वीटमार्फत् लेखेका छन् – भारतीय मिडियाले भूकम्पका बारेमा संवेदनशील भएर रिपोर्टिङ नगरेको, घटनालाई सनसनी रुपमा प्रस्तुत गरेको, राष्ट्रियतामाथि प्रहार गरेको लगायतका आरोप भारतीय मिडियामाथि लागेको छ । भारतीय मिडियाले भारतबाट उद्दारका लागि आएको टोलीले नेपाललाई बचाएको, नरेन्द्र मोदीले महाभारतमा भगवान कृष्णले द्रौपदीको चीरहरणबाट बचाएझैं नेपाललाई मोदीले बचाएको जस्ता समाचारहरु प्रस्तुत गरेका थिए ।’
भारतको पाकिस्तान र चीनसँग खासै राम्रो सम्बन्ध छैन । सम्बन्ध राम्रो नभएकै कारण पाकिस्तान र चीनले नेपाललाई गरेको सहयोग बारे भारतले खिल्ली पनि उडायो । ती दुई देशलाई ओभरटेक गरेर उद्दारको नाटक गर्यो । भारतबाट आएका हेलिकप्टरले पहिलो प्राथमिकतामा भूकम्प पीडितलाई उद्दार भन्दा पनि भारतीय नागरिकलाई स्वदेश फिर्ता गरायो । दोस्रो प्राथमिकतामा भारतीय पत्रकारलाई आकाशमाथि उडाएर नेपालको अस्मितामाथि नै धावा बोल्ने गरी रिपोर्टिङ्गमा खटायो र तेस्रो प्राथमिकतामा मात्र उद्दारमा लाग्यो ।
यो संकटमा भारतीय राहत एकातिर मिडिया अर्कातिर प्रस्तुत भयो । अतुत अग्रवाल लेख्छन् –‘नेपालले ६ दिनमै भारतीय मिडियाको असली अनुहार देख्यो ।’ यसरी सयौंले ट्वीटमार्फत् ‘गो होम इण्डियन मिडिया’ भारतीय मिडिया घर फर्क ह्यासट्याग बनाई ट्वीट गरिरहेका छन् ।
वैशाख १९ गते शनिबार बिहान पोखरा विमानस्थलमा भारतीय पत्रकारले नेपाल प्रहरीलाई हातपात गरेको सार्वजनिक भएको छ । नेपाल प्रहरीले परिचयपत्र मागेपछि भारतीय पत्रकारले ‘परिचय माग्ने र रोक्ने तँ को होस्’ भने । यसै सन्दर्भको तस्वीर सार्वजनिक भएपछि भारतीय नागरिकले गरेको ट्वीटमा पत्रकार पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । विपतका बेला भारतले गरेको सहयोग नेपालका लागि प्रशंसित छ ।
तर भारतले भूकम्पको मौकामा गरेको अन्य हरकत राम्रो छैन । नेपाल र भारतको सम्बन्ध सुमधुर बन्दै गएपछि भारतीय पक्षबाट गरेको यस्तो व्यवहारप्रति सन्तुष्ट भएको पाइँदैन । संकटको बेलामा न सरकार बोल्न सकेको छ न राजनीतिक दल ।
भारतीय मिडियाले नेपालमा गरेको ज्यादतीविरुद्ध विश्वभर विरोध भइरहेको छ । भारतमै यो ह्यासट्याग समग्र ट्रेन्डिङ टपिकको दोस्रो नम्बरमा पुगेको छ । भारत सरकारले यसबारे अहिलेसम्म केही बोलेको छैन । केहीले भने पाकिस्तानले अनर्गल प्रचार गरेको आरोप लगाएका छन् ।













प्रतिक्रिया