लाहोर, २१ वैशाख । पाकिस्तानको मध्यभागमा लुटेराहरूले एक प्रहरी निरीक्षण केन्द्रमा आक्रमण गरी सात प्रहरी अपहरण गरेको जानकारी अधिकारीहरूले आइतबार दिएका छन् ।
उक्त घटना शनिबार राती पञ्जाव प्रान्तको सदिकाबादको मुच क्षेत्रमा भएको बताइएको छ । जिल्ला प्रहरी प्रमुख सोहेल जफार चत्ताले करिब ४० लुटेराले उक्त प्रहरी केन्द्रमा आक्रमण गरेको र सात प्रहरी अपहरण गरेको बताउनुभयो ।
उहाँले कानुन लागु गर्ने संस्थाले केही वर्ष अगाडि लुटेरालाई उक्त क्षेत्रबाट भगाएको तर हालै उनीहरू उक्त क्षेत्रमा सक्रिय हुन थालेको बताउनुभयो । यस समयमा उनीहरू मुच तथा सिन्ध प्रान्तको सीमाका नगरमा आउनेजाने गरेको बताइएको छ ।
यी लुटेराले हालै सिन्धको गोत्की नगरमा एक प्रहरी अधिकारीको हत्या गरेको बताइएको छ । चत्ताले सशस्त्र गाडीका साथमा प्रहरीको एक बलियो समूहले यी सात प्रहरी छुटाउन कारवाही आरम्भ गरेको बताउनुभयो ।
सिन्ध तथा पञ्जाव प्रान्तको सीमामा लुटोराहरू दशकौँ देखि क्रियाशील देखिएका छन् । सन् १९९० को दशकमा सेनाले सिन्ध प्रान्तमा उनीहरूमाथि पूर्ण कारवाही गरेको थियो । त्यसपछिका सरकारले यस प्रान्तमा कानुन व्यवस्था लागू गर्न नसकेकाले उनीहरू पुनः सक्रिय हुनथालेका छन् । रासस/एएफपी















प्रतिक्रिया