काठमाडौँ, २१ वैशाख । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकको भीमटार गाविसका भूकम्पपीडितलाई राहत वितरण गर्नुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेल बताउनुभयो ।
स्थानीय माझी तथा दनुवार बस्तीमा अध्यक्ष दाहालले तीन सय बोरा चामल, १५० थान त्रिपाल, औषधी तथा अन्य राहत सामग्री वितरण गर्नुभएको थियो ।
उहाँले भूकम्पपीडित जनतालाई आफ्नो पार्टीका तर्फबाट क्रमशः राहत प्रदान गर्दै जाने जानकारी गराउँदै केही समय धैर्य गर्न आग्रह गर्नुभएको थियो ।
उहाँले सोमबार प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण गराउने, उद्धार र राहतलाई विशेष बनाउन आग्रह गर्ने बताउनुभएको थियो । अध्यक्ष दाहालले यही वैशाख २४ गते बोलाइएको व्यवस्थापिका–संसद्को बैठकमा पनि विशेष समय लिएर कुरा राख्ने बताउनुभएको थियो ।
अल्पसङ्ख्यक माझी तथा दनुवारको बस्ती रहेको भीमटारमा सबैभन्दा बढी घर भत्किएका छन् भने तीन सयभन्दा बढीको ज्यान गएको छ ।
यस्तै, अध्यक्ष दाहालले आजै मेलम्ची क्षेत्रको पनि स्थलगत अवलोकन गरी राहत र उद्धारका लागि सरकारलाई ध्यानाकर्षण गराउने बताउनुभएको थियो । उद्धार, राहतका विषयमा नेपाली सेनाका स्थानीय अधिकारीसँग पनि अध्यक्ष दाहालले जानकारी लिनुभएको थियो ।
विपत्को समयमा नेपाली सेनाले गरेको प्रयासको उच्च प्रशंसा गर्दै अझै प्रभावकारी रुपमा जनताको सेवा गर्न आग्रह गर्नुभएको थियो । सिन्धुपाल्चोकमा हालसम्म सबैभन्दा नागरिकको भूकम्पका कारण ज्यान गएको छ । रासस












प्रतिक्रिया