४ कार्तिक २०८३, बुधबार

सिटामोल र ओत नपाइ बिते नवलपुरका त्रियानब्बे वर्षीय घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । भूकम्पपीडितका नाममा राहतको थुप्रो लाग्दा एक घाइतेको उपचार र ओत नपाएका कारण आज मृत्यु भएको छ ।

वैशाख १२ गतेको भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकको मध्यभागस्थित नवलपुर गाविस–४ टाकुरेका ९३ वर्षीय घाइते इन्द्रप्रसाद काफ्लेको सिटामोल र ओत नपाई साँझ मृत्यु भएको हो ।

भूकम्पका बेलामा घरमा पुरिएका काफ्लेलाई छोरा बुहारी एवम् गाउँलेले उद्धार गरी घाइते अवस्थामा निकालेका थिए । घाइते भएका काफ्लेलाई उपचारका लागि नवलपुर स्वास्थ्यचौकी लगिएकोमा स्वास्थ्यकर्मी र सिटामोलसम्म पनि नपाइएका कारण त्यत्तिकै फिर्ता गरिएको थियो ।

उपचारका लागि काठमाडौँ ल्याउन त्यस समयमा यातायात व्यवसायीले बस नचलाएकाले उपचार गर्न नसकिएको मृतकका नाती हिमालय काफ्लेले जानकारी दिनुभयो । “९३ वर्ष भएपनि हजुरबा तन्दुरुस्त नै हुनुहुन्थ्यो, भूकम्पका कारण घाइते भई उपचारसमेत नपाएको र ओत पनि नभएकाले चिसोले थप बिरामी हुनुभएको थियो, प्राथमिक उपचार पनि पाउन सकिएन”–उहाँले भन्नुभयो ।

काफ्लेलाई स्वास्थ्यचौकी लैजाँदा गोडामा काटिएर उपचार गर्न गएकी नवलपुर–४ बिमिरेकी १४ वर्षीया समिना मगरलाई औषधि उपचार केही नपाई बोकेर घरमा पु¥याइदिएको काफ्लेका नाति हिमालयले सुनाउनुभयो । रासस