ओखलढुंगा, २० वैशाख । ओखलढुंगामा भूकम्पकबाट मर्नेको संख्या १९ पुगेको छ । शनिबार खिजिकाति गाविसका मकरबहादुर तामाङको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९ पुगेको हो । भूकम्पबाट ९२ जना घाइते भएका छन् । जसमध्ये अहिले पनि विभिन्न स्वास्थ्य संस्थामा १५ जनाको उपचार भइरहेको छ । अन्य उपचारबाट घर फर्किएका छन् ।
भूकम्पले १८ गाविस धेरै प्रभावित भएका छन् । जिल्ला दैवि प्रकोप उद्धार समिति ओखलढुंगाले सार्वजनिक गरेको तथ्यांक अनुसार १८ गाविस अरु भन्दा धेरै प्रभावित भएका छन् । जिल्लाका रावादोलु, भुसिंगा, खिजिकाति, खिजिचण्डेश्वरी, खिजिफलाटे, रगनी, टारकेरावारी, रानिवन, सिंहदेवि, पोकली, फुलवारी, बलखु, पलापु, सिस्नेरी, विलन्दु, कटुन्जे, श्रीचौर र पात्ले गाविसमा धेरै क्षति पुगेको छ ।
त्यस्तै विभिन्न ८३ सरकारी निकायका भवनमा क्षति पुगेको छ । समितिले सार्वजानिक गरेको तथ्यांक अनुसार ११ ओटा गाविस भवन, ४९ विद्यालय भवन, २३ स्वास्थ्य चौकि भवन, २ खानेपानी आयोजना, र एउटा जलविद्युत आयोजनामा भुकम्पले क्षति पुर्याएको छ ।
भुकम्पले जिल्लामा ८ हजार ८४ घरहरु पूर्ण रुपमा भत्केका छन् भने ९ हजार ८ सय ९० घरहरु बस्न नहुने गरी चर्किएका छन् । जिल्लामा १८ भन्दा बढी पाल आवश्यक भए पनि हालसम्म ५ हजार २ थान मात्र जिल्लामा आएको छ ।
दुर्गमका भूसिंगा, रावादोलु, पात्ले लगायतका गाविसमा अहिलेसम्म पनि पाल नपुगेको पीडितहरुले गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईले भने मृतकका परिवारलाई किरीया खर्च र र पाल तथा खाद्यन्न वितरण भइरहेको बताउनुभयो ।
सभासद्द्धारा मृतक परिवारलाई राहत वितरण
यस्तै, ओखलढुंगा क्षेत्र नं. १ का सभाषद् यज्ञराज सुनुवारले ओखलढुंगामा भूकम्पबाट ज्यान गुमाएका मृतक परिवारलाई प्रति परिवार पाँच हजार एक रुपैयाँका दरले राहत वितरण गरेका छन् । सभाषदु सुनुवारले आफ्नो तर्फबाट मृतक परिवारलाई राहत स्वरुप सो रकम दिएको बताउनुभयो ।
सुनुवारले मृतकका घरमै गएर आफन्तलाई राहत रकम हस्तान्तरण गरेका गर्नुभएको हो । उहाँले जिल्लाको सबैभन्दा बढी मानवीय क्षती भएको रगनी गाविसबाट रकम हस्तान्तरण शुरु गरेका जानकारी दिनुभयो ।
घर समेत गुमाएका पीडित परिवारलाई बास बस्ने टहरा निर्माण गर्न सहज होस् भन्ने उद्देश्यले प्रत्येकका घरमै पुगेर सहयोग गरेको सुनुवारका सहयोगी राजन खत्रीले बताउनुभयो । यस अघि जिल्ला दैवी प्रकोप उद्धार समितिबाट ४० हजारका दरले क्रिया खर्च दिइएको थियो ।















प्रतिक्रिया