तनहुँ, २० वैशाख । तनहुँ जिल्लाका सभासद्हरुले भूकम्प पीडितहरुको लागी राहत वितरण कार्य प्रभावकारी बनाउन जोड दिएका छन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको संयोजनमा आईतबार दमौलीमा आयोजित एक कार्यक्रममा बोल्दै सभासद्हरुले जिल्लामा मानवीय क्षति नभएपनि धेरै परिमाणमा सम्पत्ती क्षति भएको हुँदा पीडितहरुलाई राहत र पुननिर्माण कार्य प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
सो कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति एवं सभासद् रामचन्द्र पौडेलले सबै पीडितहरुले महसुस हुने गरि राहत वितरण गर्नु पर्ने बताए । कुनै राजनीतिक आस्थाको आधारमा राहत वितरण हुन नहुने पौडेलको जोड थियो ।
तनहुँलाई उच्च संकटग्रस्त जिल्लाको सुचिमा समावेश गर्न आफुले पहल गर्ने सभासद् पौडेलको भनाई थियो । अर्का काँग्रेसकै अर्का सभासद शंकर भण्डारीले पनि क्षतीको वास्तविक तथ्याङ्क आउनु पर्ने र राहत वितरणलाई तिब्रता दिनु पर्ने बताए ।
नेकपा एमालेका सभासद् टुकराज सिग्देलले तथ्यांक संकलन गर्ने व्यक्ति संबेदनशिल बन्नु पर्ने र वास्तविक क्षतीको विवरण ल्याउनु पर्ने बताए । उनले गलत तथ्यांक ल्याउनेको पहिचान गर्नुपर्ने र राहत वितरणमा कुनै भेदभाव गर्न नहुने बताए ।
जिल्लालाई उच्च संकटग्रस्त जिल्लाको रुपमा समावेश गरि त्यही अनुसारको राहत वितरण हुनु पर्ने सभासद् सिग्देलको भनाई थियो । काँग्रेसका अर्का सभासद् ध्रुव वाग्लेले राहत वितरणमा राजनीतिकरण भएको सुनिएको हुँदा त्यस्तो कार्य तत्काल रोकिनु पर्ने बताए । क्षतिको विवरण संकलनमा सर्वदलीय संयन्त्र परिचालित हुनुपर्ने र राहत वितरणमा शिक्षकहरुलाई परिचालन गर्नुपर्ने सभासद् वाग्लेको जोड थियो ।
त्यस्तै एकीकृत नेकपा माओवादीका सभासद् आशा कोइरालाले क्षतिको विवरण संकलन कार्य प्रभावकारी नभएको हुँदा पुनः विवरण संकलन गर्नु पर्ने माग गरिन् । बस्नै नहुने घरलाई पनि आंशिक क्षति भएको भन्दै विवरण संकलन भएको सभासद् कोइरालाको भनाई थियो ।
सभासद् कोईरालाले पनि तनहुँलाई उच्च संकटग्रस्त जिल्ला घोषणा गर्नु पर्नेमा जोड दिईन् । काँग्रेसकै अर्का सभासद् रामचन्द्र पोखरेलले एकद्वार प्रणालीबाट राहत वितरण गर्दा ढिलो हुने भएको हुँदा त्यसलाई सच्याउनु पर्ने बताए । सभासद् पोखरेलले राहत वितरणको अनुगमन गरिनु पर्ने बताए । भूकम्पपछि हुन सक्ने रोगको संक्रमण रोक्न अहिले देखी नै सचेत बन्नु पर्ने उनको भनाई थियो ।
सोही कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले सरकारले निर्णय गरेको विषय हालसम्म कति कार्यान्वय भए त्यसको मुल्याङ्कन हुने बताए । बजेटको अभाव र कर्मचारीको अभावमा राहत र उद्धारमा ढिलासुस्ती भए कारवाहीको भागिदार बन्नु पर्ने क्षेत्रीय प्रशासक थपलियाले चेतावनी दिए ।
यस्तो विपतको अवस्थामा कालोबजारी र उपभोक्ता ठग्ने कार्य हुन सक्ने हुँदा त्यसको पनि व्यापक अनुगमन गर्नु पर्ने उनको भनाई थियो । सो अवसरमा भुकम्पबाट क्षति भएको जिल्लाको अवस्था जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष राजकुमार श्रेष्ठले जिल्लामा क्षती भएको घरको तथ्यांक आउने क्रम जारी रहेको बताए ।















प्रतिक्रिया