– नरेश केसी
गोरखा, २० बैशाख । ऐतिहासिक गोरखा दरबार खतरामा पुगेको छ । करिब ४ सय वर्ष अगाडि निर्माण भएको १७ औं शताब्दीका शाहवंशिय राजा रामशाहले निर्माण गरेको सामरिक महत्वको दरबार महाभूकम्पकै कारण खतरामा पुगेको हो ।
नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्मथलो गोरखा दरबार गोरखाकै बारपाक र लाप्राकलाई केन्द्रविन्दु बनाएर आएको बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको छ । गोरखा दरबारमात्रै होइन्, भूकम्पका कारण गोरखकाली मन्दिरमा समेत क्षति पुगेको छ ।

महाभूकम्पको कारण दरबारको गुफा, मुख्यद्धार, हेरचाह अड्डा, मन्दिर, धुनी पाटी लगायतको संरचना खतरामा पुगेका छन् । दरबारको धेरैजसो क्षेत्रमा खतराको कारण निषेधित क्षेत्र घोषणा गरिएको दरबारका प्रशासकीय अधिकृत विष्णु सापकोटाले जनाए ।
राजा रामशाहले बनाएको सो ऐतिहासिक धरोहरलाई महाभूकम्पले अत्यन्तै छिन्नभिन्न बनाएकोले सुरक्षा तदारुकता बढाइएको अधिकृत सापकोटाले बताए । सापकोटाले भने “ संरचनाहरु जत्तिबेला पनि खस्न सक्ने अवस्थामा छन् ।”
बाह्य रुपमा इट्टा खसेको, त्रिशुल कोल्टो परेको देखिएता पनि भित्री रुपमा पूर्ण रुपमा भूकम्पको कारण खल्बलिएको छ । यो जत्तिबेला पनि ढल्न सक्छ । त्यही खतरालाई मध्यनजर गर्दै हामीले सर्वसाधरणका लागि दरबार प्रवेश निषेध गरेका छौ । उनले भने ।
दरबार प्रशासनले पुरातत्व विभागलाई दरबार खण्डहरमा परिणतः हुने सम्भावना भएको समेत बताएको छ । भुकम्पीय झट्काहरु बारम्बार आइरहेकोले अग्लो डाँडामा रहेको दरबार जतिबेला पनि खण्डहरमा परिणतः हुन सक्ने हुँदां तत्काल बचाउन सबैको सहयोग खोजिएको छ । दरबारको स्थिति बुझ्न जिल्लास्थित भवन निर्माण कार्यालयको प्राविधिक टोली पुगेर फर्केको बुझिएको छ ।
ऐतिहासिक दरबारको मुख्य छानो खलबलिएको छ । दरबारको पूर्वपट्टिको भाग र दक्षिणपट्टिको भाग खतरामा छ । गोरखाको पहिचान गोरखा दरबार अहिले जत्तिबेला पनि खस्न सक्ने अवस्थामा भएको पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले जनाए ।
आन्तरिक र बाह्य पर्यटकहरु गोरखा भित्राउन मुख्य भूमिका खेल्ने प्राचिन सभ्यता बोकेको दरबार भत्किँदा आफूलाई अति नै चिन्तित बनाएको व्यवसायी ज्ञवालीको भनाइ थियो । गोरखाको शान, गोरखा दरबारको अहिले अवस्था अत्यन्तै चिन्ताजनक भएकोले सरकारले यसको बचावटका लागि बेलैमा ध्यान दिनुपर्ने गोरखा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष कृष्ण श्रेष्ठले बताए ।


















प्रतिक्रिया