बैंकक २० वैशाख । थाइल्याण्डमा सरकारले पैसा लिएर वा दिएर भाडामा बच्चा जन्माउ कानुनी प्रावधान रोकेको छ । उसले अबदेखि भाडामा बच्चा जन्माएमा १० वर्षसम्म जेलमा राख्ने निर्णय समेत गरेको छ ।
थाइल्याण्ड सरकारले कोख भाडामा लिने र दिने दुबैलाई गैर कानुनी घोषणा गरेको छ । सरोगेसीविरुद्ध थाइ सरकारले १० वर्ष कैद गर्ने प्रावधानसहितको नयाँ कानुन ल्याएको छ ।
श्रीमान श्रीमती मध्ये एक जना थाइल्याण्डको नागरिक भएमा कोख भाडामा लिन पाउने व्यवस्था कानुनले गरेको छ । थाइल्याण्डको मेडिकल काउन्सिलले भने पैसाको लागि विदेशीलाई कोख बेच्न नपाइने भन्दै १९९७ मा रोक लगाएको थियो ।
कोख भाडामा लगाउने कारोवार नरोकिएपछि थाइ सरकारले सरोगेसीलाई गैर कानुनी घोषणा गरेकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सरोगेसीको विषयमा अघिल्लो वर्ष जुम्ल्याहा बच्चालाई लिएर ठूलो विवाद भएको कारण थाइल्यानमा भैरहेको कोख बेच्ने व्यापार बाहिर आएको थियो ।
एक सरोगेट महिलाले जुम्ल्याहा बच्चा जन्माएपछि अस्ट्रेलियाका नागरिकले दुवै बच्चा लिन अस्वीकार गरेपछि विवाद बाहिर आएको थियो । आफ्नो देशलाई दुनियाँको कोख नबनाउने भन्दै नयाँ कानुन ल्याएको थाइल्याण्डका सरकारी अधिकारीहरूको भनाई छ । रासस/एएफपी
















प्रतिक्रिया