गोरखा, १९ वैशाख । नेपाली सेनाले आजको भूकम्पबाट गोरखामा कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ ।
शनिबार बिहान ११ बजेर ३० मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएपनि कुनै हताहती नभएको सेनाको दाबी छ । भूकम्पपछि आज बारपाक वरपरको क्षेत्रमा पहिरो गए पनि कुनै पनि मानवीय क्षति नभएको गोरखा सदरमुकामबाट हेलिकोप्टरमा लाप्राक पुगेर फर्किएका सेनाका क्याप्टेन सन्तोष श्रेष्ठले जानकारी दिएका छन् ।
बारपाकमा आज भूकम्प गएपछि नजिकैको लाप्राकमा पहिरोले २५ जना पूरिएको र त्यसमध्ये चार जनाको शव भेटिएको खबर स्थानीय प्रहरीलाई उद्धृत गर्दै नेपालका विभिन्न टेलिभिजन च्यानलहरुले सार्वजनिक गरेका थिए ।
लाप्राकमा अहिले उद्दार र राहत वितरणमा नेपाली सेनाको १४ जनाको टोली खटिएको छ । अघिल्लो साता गएको भूकम्पले लाप्राकमा १८ जनाको ज्यान गएको थियो ।













प्रतिक्रिया