१४ कार्तिक २०८३, शनिबार

सन्ततिको माया : आफू मरेर हजुरआमाले नातीनी बचाइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-bhukamapa-5

विष्णु नेपाल / सिवी अधिकारी

काठमाडौँ, १९ वैशाख । आमा–बुबालाई आफ्नो शरीरभन्दा पनि सन्ततिको मायाँ बढी हुन्छ । यस्तै बाजे बज्यैलाई छोराछोरीको भन्दा नाति नातीनाप्रतिको माया झन् बढी हुन्छ । गत शनिबार गएको विनाशकारी भूकम्पमा सिन्धुपाल्चोकको बाँसखर्कमा यस्तै देखियो ।

बाँसखर्ककी ७६ वर्षीया फिल्मो तामाङले आफ्नो ज्यानको परवाह नगरी ६ वर्षीया नातिनी ग्याल्मोलाई बचाइन् । तर उक्त घट्नामा परेर फिल्मोको ज्यान गयो । उनले आफु मरेर पनि नातिनीलाई बचाइन् । ममतामयी बज्यै भन्दै फिल्मो अहिले गाउँभरी चर्चाको विषय बनेकी छन् ।

गत शनिबार आएको विनाशकारी भूकम्पमा परी फिल्मोका घरमा पुरिएर मृत्यु भयो । तर नातिनीलाई भने नयाँ जीवन दिइन् । ती बालिकाको दुई दिनपछि उद्धार गरी काठमाडौँ ल्याइपु¥याइएको छ । बुबा सुकमान तामाङले उनलाई उपचारका लागि काठमाडौँ ल्याएका हुन् । बालिका ग्याल्मोको खुट्टा भाँचिएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
“भूकम्प जाँदा आमा र छोरीसँगै थिए” बालिकाका बुबा सुकमानले भन्नुभयो । भूकम्प आउने बित्तिकै आमाले नानी(छोरी)लाई खाटमुनि राखेर आफूले मास्तिरबाट ‘कुखुराले चल्ला लुकाए’ झैँ गर्नुभएको रहेछ । “आमालाई घरको गारोले किचिदियो, नानी बाँच्न सफल भई” उहाँले आँशु झार्दै भन्नुभयो । भूकम्प गएको दुई दिनपछि मात्र सुकमान घर पुगेका थिए ।

भूकम्पजाँदा सुकमान बनेपामा थिए । ज्यालादारी काम गर्दै आएका उनी खबर पाएपछि घर फर्केका थिए । “घरमा पुरिएका आमा र छोरीको उद्धार गर्ने क्रममा मैले छोरीलाई सकुसल भेट्टाएँ” तामाङले भन्नुभयो । छिमेकी बालिका खेन्डो तामाङले उस्तै नियति भोग्नुप¥यो । छ वर्षीया खेन्डोले पनि हजुरआमा गुमाएकी छन् ।

दुवै बालिकासहित गाउँका अन्य घाइतेलाई नेपाली सेनाले मेलम्चीबजारबाट उद्धार गरी काठमाडौँ ल्याएको छ । अहिले ट्रमा सेन्टरमा मात्र भूकम्पबाट घाइते भएका ११ जना बालबालिकाको उपचार भइरहेको छ । वीर अस्पतालका निर्देशक प्रा डा स्वयंप्रकाश पण्डितले भूकम्पबाट घाइते भएका बालबालिकाको उपचारमा विशेष प्राथमिकता दिइरहेको बताउनुभयो । “अन्य घाइतेभन्दा बालबालिकाको उपचारमा विशेष ध्यान दिएका छौँ” उहाँले भन्नुभयो । रासस