काठमाडौँ, १९ वैशाख । युवा सङ्घ नेपालले काठमाडौँको उत्तरी भेग साँखुमा आज ३०० महिलालाई प्याड तथा ४० जना केटाकेटीलाई स्यार्लेक्स वितरण गरेको छ ।
शनिबार गएको विनाशकारी भूकम्पबाट त्यहाँका सुत्केरी तथा ससाना बालबालिकालाई समस्या परेको छ । सङ्घका अध्यक्ष नीरु पालको नेतृत्वमा गएको टोलीले छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई स्यार्लेक्स तथा सुत्केरी र अन्य महिलालाई प्याड उपलब्ध गराएको थियो । सङ्घले भूकम्पपीडितलाई राहत तथा उद्धारमा आफ्नो मातहतका सम्पूर्ण कमिटीलाई परिचालन गर्दै आएको छ ।
भूकम्पपछि विभिन्न प्रकारका महामारी फैलिन सक्ने सम्भावना रहेकाले त्यसलाई रोक्न सङ्घले संविधानसभा भवन, टुँडिखेल, सुन्धारा, पुरानो बसपार्क, गोङ्गबुलगायत क्षेत्रमा सफाइ तथा फिनेल छर्कने काम गरेको थियो । त्यस्तै यही वैशाख १५ गते १०० अस्थायी शौचालय टुँडिखेलमा निर्माण गरेको छ । त्यसैगरी बुधबार सामाखुसी, बसपार्क, गोङ्गबु क्षेत्रमा पाँच हजार मास्क वितरण गरेको थियो ।
सङ्घका अध्यक्ष पालले भूकम्पका कारण सरुवा रोग तथा महामारी फैलिन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गर्दै त्यस क्षेत्रका महिला तथा बालबालिकालाई समस्या परेकाले सहयोग जुटाइएको बताउनुभयो । रासस















प्रतिक्रिया