४ कार्तिक २०८३, बुधबार

राहत सामग्री विमानस्थलमा थन्कियो, सेना भन्छ बाड्न सकेनौं, पीडित भन्छ राहत पाएनौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-helicopter-nepalकाठमाडौँ, १८ वैशाख । शनिबारको विनाशकारी भूकम्पपछि मित्रराष्ट्रहरूबाट राहत सामग्रीको ओइरो लागे पनि त्यसलाई दुर्गम भागका पीडित जनतासामु समन्वयात्मक ढङ्गमा पु¥याउने चुनौती सरकारसामु आइपरेको छ ।

मित्रराष्ट्रहरूले राहत सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै थुपारिदिने तर त्यसलाई प्रभावित क्षेत्रहरूसम्म छिटो छरितो रुपमा पु¥याउन नसक्ने समस्यालाई नेपाली सेनाले चुनौतीका रुपमा लिएको हो ।

सैनिक मुख्यालयमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली सेनाका प्रधान सेनापति गौरव शम्शेर जवराले भन्नुभयो, “विमानस्थल सम्हाल्ने काममा हाम्रो कमजोरी रह्यो । हवाइ ढुवानीको क्षमता हामीसँगै छैन । राहत सामग्रीलाई चुस्तरुपमा प्रभावित ठाउँमा पु¥याउन ढिला भएको छ ।”

मित्र राष्ट्रहरूबाट उपलब्ध गराइएको उदार सहायताप्रति शङ्का नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “दातृ निकाय र मित्रराष्ट्रहरूबाट प्रशस्त सहयोग प्राप्त भएको छ । हामी आफैँले पनि सहायताका लागि गुहारेका छौँ ।”

नेपाली सेनाका अनुसार अहिलेसम्म ३९ देशबाट ९६९ टन राहत सामग्री आएको छ । कुल वितरित राहत सामग्रीको परिणाम भने २७२ टन छ । भूकम्पबाट अति प्रभावित १२ वटा जिल्लाहरूमा मात्रै मारिनेहरूको सङ्ख्या १० हजार नाघ्ने सेनाको आकलन छ । ती १२ जिल्लाको जनसङ्ख्या ४८ लाखको हाराहारीमा रहेको छ ।

मध्याह्नको समय भएकाले किसानहरू खेतबारीतिर रहने र शनिबार विद्यालयहरू बन्द रहने भएकाले भूकम्पको आकारको दाँजोमा हताहत धेरै हुन नपाएको सेनाको भनाइ छ ।

राहत वितरणका लागि नयाँ संयन्त्र बनाउनुभन्दा भएकै संयन्त्रबाट काम लिनुपर्ने प्रधानसेनापति जबराको सुझाव छ । नयाँ संरचना बनाउँदा अन्यौलको स्थिति सिर्जना हुने उहाँको धारणा छ ।

उहाँले उद्धारका काम सकिएपछि राहत वितरणको कामले गति लिने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रले ठूलो क्षति र विपद् बेहोरेका बेला हरेक तप्काका जनता र राजनीतिक दलका नेताले पीडामा परेका जनताको सहज जीवनयापन र कल्याणका लागि खटिदिनुपर्छ ।”

विपद्पछिको ३० घन्टाभित्र अन्तर्राष्ट्रिय समुदायबाट सहायता आउनुपर्नेमा त्यसो हुन नसकेको बताउँदै उहाँले नेपाली सेनाले आफ्नो क्षमता अनुसार विपद्को सम्बोधन गर्न सकेको दावी गर्नुभयो ।

सेनाले दिएको जानकारीअनुसार काठमाडौँ उपत्यकाभित्र पाँच हजार ५०० जति घर बस्न नमिल्ने गरी क्षति भएका छन् । देशभर २४ हजार ८१२ घर नष्ट भएका छन् भने एक लाख ३६ हजार ५७४ घरमा आंशिक क्षति पुगेको छ ।

नेपाली सेनाले पनि मानवीय र भौतिक क्षति बेहोरेको छ । सेनाकाअनुसार अहिलेसम्म एक सेनानीसहित आठ सैनिक जवानको मृत्यु भएको छ । दशजना सम्पर्कविहीन छन् भने ३१ जना घाइते छन् ।

नेपाली सेनाले गृहमन्त्रालयको ‘नेशनल इमर्जेन्सी अपरेशन सेन्टर’को मातहतमा रही उद्धार, राहत ढुवानी र सुरक्षामा सघाउँदै आएको छ ।

आजै मित्रराष्ट्र क्यानडाबाट दुई हजार ४०० पौण्ड उद्धार तथा राहत सामग्री, बङ्गलादेशबाट ३ वटा उद्धार टोलीसहित २.७ टन राहत सामग्री, अल्जेरियाबाट ५ वटा उद्धार टोलीसहित २०.९ टन राहत सामग्री, ओमनबाट उद्धार टोलीसहित एकवटा गाडी, भारतबाट २५ हजार ८०० केजी राहत सामग्री र जापानबाट ४.२ टन उद्धारका सामग्रीहरु आइपुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कालीमाटी, शोभाभगवती, छाउनी, गोमती इलाकाहरुमा ६ वटा नेपाली सेना तथा चिनिया स्वास्थ्य उपचार टोली काठमाडौं उपत्यकावासीको स्वास्थ्यमा सङ्क्रमण हुन नदिने कार्यमा खटिरहेको हँुंदा त्यसको यथोचित सुविधा लिन नेपाली सेनाले सबैमा अनुरोध पनि गरेको छ । रासस