४ कार्तिक २०८३, बुधबार

भरतपुर अस्पतालले घाइतेलाई निःशुल्क उपचारसहित बाटोखर्च नगद १ हजार दिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharatpur Hospital

– तीर्थ नेपाल 

चितवन, १९ वैशाख । महाभूकम्पमा परी घाइते भएकाहरुलाई अन्य जिल्लामा उपचारमा कठिनाई भए यहाँ पठाउन भरतपुर अस्पतालले आग्रह गरेको छ । त्यसका लागि भरतपुरमा २० वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए ।

“हामी दिनहुँ कम्तीमा २० जना घाइतेको शल्यक्रिया गरिरहेका छौं, चिकित्सकीय र अरु साधनस्रोतको कुनै अभाव छैन । घाइते यहाँ पठाउन मैले मन्त्रालयमा पनि अनुरोध गरेँ” सुवेलीले भने । भरतपुर अस्पतालमा चार सय ३५ वेड क्षमता छ । यहाँका दुई वटा मेडिकल कलेजमा १५ सय र निजी अस्पतालमा झण्डै एक हजार गरी जिल्लामा दुई हजार पाँच सय भन्दा बढी बेड क्षमता रहेको छ ।

भरतपुर अस्पतालमा एक सय ५६ जना घाइतेको उपचार गरिएको छ । शुक्रबारसम्म ७० जनाको शल्यक्रिया समेत गरिएको र एक जना गर्भवती महिलाको शल्यक्रियामार्फत बच्चा निकालि तिघ्राको हड्डीको शल्यक्रिया समेत गरिएको अस्पतालले जनाएको छ । नुवाकोट घर भएकी ती सुत्केरी महिला जीवनमाया तामाङको आईसियूमा उपचार भइरहेको छ । उनी र बच्चाको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सक श्रवणकुमार थापाले जानकारी दिए ।

भरतपुरमा अति भूकम्प प्रभावित जिल्लाका झण्डै दुई सय ५० जनाको उपचार गरिएको छ । अन्य घाइतेको यहाँका मेडिकल कलेज र निजी अस्पतालहरुमा उपचार भईरहेको छ । चितवनमा गोरखा, धादिङ, नुवाकोत, मकवानपुर, सिन्धुपाल्चोक, बारा, तनहुँ, सिन्धुली, नवलपरासी, रसुवा, ललितपुर, काठमाण्डौं र चितवनकै घाइतेहरुको उपचार भईरहेको छ ।

जसमध्ये गोरखा र धादिङका धेरै छन् । भरतपुरमा आएका घाइते तथा तिनका कुरुवालाई खाना, खाजा र बाटो खर्च पनि उपलब्ध गराईएको छ । भरतपुर अस्पताल कर्मचारी युनियनको सम्वन्वयमा विभिन्न व्यक्ति र संघ संस्थाले गरेको आर्थिक र जिन्सी सहयोगबाट खाना, खाजा र खर्चको व्यवस्था गरिएको हो ।

भरतपुर अस्पतालबाट हालसम्म ५० जना घाइते उपचार गरी घर फर्किएका छन् । घाइते र कुरुवालाई जनही एक हजार रुपैयाँ, तीन दिनलाई पुग्ने खाजा, त्रिपाल, कम्मल लगायतका सामग्री दिएर पठाइएको अस्पताल कर्मचारी युनियनका उपाध्यक्ष डा.उन्नतकुमार श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा कार्यरत चिकित्सकहरुले निजी क्लिनिकमा गएर गर्ने काम समेत स्थगित गरी सबै समय भरतपुर अस्पतालमै दिएको सर्जन डा.सुरेशकुमार प्रधानले जानकारी दिए ।

बिरामी र घाइतेहरुलाई आवश्वक औषधि पनि निःशुल्क वितरण गरिएको छ । स्थानीय औषधि व्यवसायीहरुको सहयोगमा औषधिहरु वितरण गरिएको अस्पतालका ओपिडि इन्चार्ज हिरामान महर्जनले जानकारी दिए । सबैको सहयोग र अस्पतालको विशेष क्रियाशीलतामा प्रभावकारी उपचार चलिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विजय पौडेलको भनाई छ । “घाइते र तिनको कुरुवाहरुले दिएको प्रतिक्रियाबाट हामीलाई अत्यन्त सन्तोष लागेको छ ।

उपचारमा कठिनाई भएका अरु घाइतेहरुलाई पनि हामी यहाँ पठाउन अपिल गर्दछौं” पौडेलले भने । स्वाईनफ्लु र डेंगु जस्ता महामारीजन्य संक्रमण हुने क्रम निरन्तर घटेकाले भूकम्प पीडित घाइतेहरुको उपचारलाई प्रभावकारी बनाउन अझ सहज भएको उनले बताए । भूकम्पमा परी घाइतेहरु अधिकांश हाडजोर्नीको समस्या देखिएको छ । केहीलाई टाउकोमा चोटपटक लागेको छ ।

यी सबै खालका घाइतेहरुलाई भरतपुरमै प्रभावकारी उपचार सम्भव भएको र यहाँबाट कतै रिफर गर्नुपर्ने अवस्था नरहेको फिजिसियन तथा भरतपुर अस्पतालका प्रवक्ता डा.प्रकाश खतिवडाले जनाए ।