काठमाडौँ, १८ वैशाख । नेकपा एमालेले भूकम्प पीडितलाई राहत दिन आफ्नो पार्टीका जनवर्गीय संगठनहरुलाई परिचालन गरेको छ ।
मोर्चा संगठनका प्रमुख एवं नेकपा एमालेका सचिव गोकर्ण विष्टले भूकम्प पीडितलाई तत्काल राहत दिने उद्देश्यले पार्टीका मोर्चा संगठनलाई परिचालन गरेका हुन् ।
एमाले मोर्चा संगठनले शुक्रबार जारी गरेको विज्ञप्ति जस्ताको तस्तैः
२०७२ साल वैशाख १२ गते र त्यस यता पटकपटक आएको विनाशकारी महाभूकम्पले गरेको मानवीय तथा भौतिक क्षतिको स्थितिलाई विचार गरी राजनीतिक दलहरुको अगुवाईमा उद्दार, सरसफाई, स्वास्थ्य शिविर र राहतका कार्यहरु अगाडि बढेका छन् ।
नेकपा एमाले सम्बद्ध मोर्चा संगठनको बैठकले काठमाडौँ उपत्यकाभित्र विभिन्न १३ स्थानमा सरसफाई कार्यक्रम तथा विभिन्न छ स्थानमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर संचालन गर्ने योजना कार्यान्वयन गरिरहेको छ ।
मोर्चा संगठनका प्रमुख तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टको अध्यक्षतामा वैशाख १६ गते बसेको बैठकले बनाएको कार्ययोजना अनुसार आज वैशाख १८ गते शुक्रबारदेखि मोर्चा संगठन सम्बद्ध संगठनहरुले जिम्मेवारी दिए अनुसारको स्थलमा सरसफाईको काम थालनी गरेका छन् ।
तद्अनुरुप अनेरास्ववियुले कीर्तिपुरस्थित विश्वविद्यालय परिसर र इन्जिनियरिङ पुल्चोकस्थित शिविरमा सरसफाइ थालेको छ । अखिल नेपाल किसान महासंघले लगनखेल, अखिल नेपाल महिला संघले शंखपार्क, युवा संघ नेपालले गोंगबु, मुक्ति समाज नेपालले शांखु र भक्तपुर तथा राष्ट्रिय खेलकुद महासंघले दशरथ रंगशालास्थित शिविरमा सरसफाईको जिम्मेवारी लिएर काम थालेको छ । स्थानीय निकाय कर्मचारी संघले गोंगबुमा सरसफाईको कामलाई अगुवाइ गरिरहेको छ ।
सबैभन्दा बढी समस्याग्रस्त काठमाडौँका गोंगबु र शांखु, भक्तपुरका चागुनारायण र भक्तपुर तथा ललितपुरका हरिसिद्धि र खोकनामा विशेषज्ञ चिकित्सक नर्सहरुसहितको स्वास्थ्य टोली बनाएर स्वास्थ्य शिविर संचालन गरिएको छ ।
नेपाल इन्जिनियरिङ पेशाकर्मी संघले महानगर र भवन विभागसँग समन्वय गरी उपत्यकाबासीहरुका घरहरुमा भएको क्षतिको स्थिति अध्ययन गरेर तीन श्रेणाीमा वर्गीकरण गर्ने भएको छ । कामै नलाग्ने भएकोलाई ‘रेड’, निकै क्षति भएको तर काम लाग्ने अवस्थाका लागि ‘एलो’ र बस्न मिल्ने घरहरुलाई ‘ग्रीन’ श्रेणीमा वर्गीकरण गर्ने काम थाल्ने गर्ने योजना बनेको छ । त्यस निम्ति आवश्यक जनशक्तिलाई प्रशिक्षण दिएर कार्यक्षेत्रमा तत्काल खटाइने भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध संगठन नेपाल स्वतन्त्र यातायात मजदुर संगठनले उपत्यकाबाहिर जाने नागरिकहरुका लागि यातायात व्यवस्थाको संयोजन गरेको छ ।
नेकपा एमालेका ७२ वटा जिल्ला सम्पर्क मञ्चहरु परिचालन गर्ने गरी सम्पर्क समन्वय कमिटीले राहत संकलनको योजना बनाएको छ । कमिटीका इन्चार्ज छविलाल विश्वकर्माको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय परिसरमा बसेको बैठकले यस सम्बन्धी योजना बनाउनुका साथै कार्यविभाजन गरेको छ । उक्त कमिटीले सबै समक्ष महाभूकम्प पीडितहरुको राहतका लागि सहयोग गर्न अनुरोध समेत गरेको छ ।
मई दिवसको अवसरमा आज पौने ६ बजे माइतीघरस्थित मण्डलामा महाभूकम्पमा परी ज्यान गुमाउने दाजुभाई दिदीबहिनीहरुको श्रद्धान्जली स्वरुप दीप प्रज्वलन गरिने भएको छ । जिफन्ट र पेशागत महासंघको अगुगाईमा गरिने उक्त कार्यक्रममा विभिन्न मजदुर संगठनहरु तथा राजनीतिक नेता–कार्यकर्ताहरुको सहभागिता रहनेछ ।
सूर्य थापा
उपप्रमुख– केन्द्रीय प्रचार विभाग, नेकपा (एमाले)
१८ बैशाख २०७२
















प्रतिक्रिया