२ कार्तिक २०८३, सोमबार

सय घन्टापछि उद्धार गरिएका ऋषिको दुवै खुट्टा काटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rishi-khanal

काठमाडौं, १८ बैशाख । नयाँ बसपार्कको सयपत्री गेष्ट हाउसमा पुरिएर एक सय घन्टापछि उद्धार गरिएका अर्घाघाँचीका ऋषि खनालका दुवै खुट्टा काटिएको छ । घुँडा मुनीको भाग चिकित्सकले अप्रेसन गरेर काटेका हुन् ।

गेष्टहाउसमा उनको घुँडा मुनीको भाग पुरिएको थियो । करिब ७ घन्टा लगाएर उनलाई बल्लतल्ल उद्धार टोलीले बुधबार बेलुका निकालेको थियो । शिक्षण अस्पतालमा उपचार गराइरहेका उनले आफ्नो अनुभव यसरी सुनाए– वैदेशिक रोजगारीका लागि सोमबार दुबई उड्दै थिएँ । दुबईस्थित केएफसीमा काम गर्ने गरी मेरो भिसा लागेको थियो । त्यसैले उड्नुभन्दा झन्डै एक साताअघि (मंगलबार) नै घरबाट काठमाडौं आएको थिएँ । नयाँ बसपार्कमा रहेको सयपत्री गेस्ट हाउसको दोस्रो तलाको १०३ नम्बर कोठामा मेरो बसाइ थियो ।

घरबाट आउँदा जेठान पुनाराम भट्टराई र अन्य दुईजना पनि सँगै आउनुभएको थियो । तर, उहाँहरू शिक्षक सेवा आयोगको परीक्षाको तयारी गर्न गल्कोपाखा साइडमा बस्नुभएको थियो । मलाई बसपार्कको होटलमा बस्दा सजिलो हुने भएकाले त्यहाँ बसेको थिएँ । भूकम्प जानु अघिल्लो दिन शुक्रबार नै मैले मेनपावरलाई पैसा बुझाएको थिएँ, मेडिकल चेकअप सिध्याएको थिएँ । उताका लागि चाहिने सामान पनि लगभग किनेको थिएँ ।

शनिबार बिहान बसपार्कतिरै थिएँ । सवा एघार बजेतिर खाना खाएर कोठामा निस्केँ, साढे एघार बजेतिर घरबाट आमाको फोन आयो, मैले सोमबार उड्ने फिक्स भएको, पैसा बुझाइसकेको, मेडिकल चेकअप गरेकोलगायतका कुरा सुनाएको थिएँ । कुरा लामो भएपछि मैले आमालाई तपाईं फोन राख्नुस् मेरोमा ब्यालेन्स हालेपछि दिउँसो यतैबाट गर्छु भनेर कुरा टुंग्याएँ । त्यतिन्जेल घडीमा झन्डै बाह्र बज्न आँटेकोजस्तो लागेको थियो । म भुइँतलामा ओर्लंदै थिएँ । त्यहीँ अरू तीनजना पनि थिए । कोही साउदीबाट आएको भन्थे, कोही जाने तयारीमा थिए । हामी चारैजना बसपार्कतिर जाने भनेर निस्कँदै थियौँ ।

एक्कासि होटलको घर हल्लियो । लौ के भयो भन्दै भाग्न थाल्यौँ । हस्याङफस्याङ गर्दै मेन गेटमा पुग्नै लाग्दा मेरो देब्रेखुट्टालाई केले बेस्सरी थिचेजस्तो लाग्यो । यसो हेरेँ माथिल्लो छतको एउटा ढिक्काले मेरो खुट्टालाई थिचिसकेछ । म तानेर भाग्न सकिनँ । सँगै बाहिर निस्किएको एउटा साथीलाई गुहार मागेँ, तर उसले मेरो पुकारा के सुन्थ्यो, भागिहाल्यो ।

मसँगैको अरू तीनजना पनि फसेछन् । केही सेकेन्डभित्रै ममाथि साततले घरका छतहरू एकपछि अर्को गर्दै थपिँदै गए । एकैछिनमा अन्धकार भयो, सास फेर्न मुस्किल भयो । चिच्याएर नसुनिने भयो । तर, म बिमको मुनि परेकाले टाउकोमा चोट लागेन । कक्रक्क परेर थिचिएको थिएँ । हलचल गर्न मिल्दैनथ्यो । तर, खल्तीको रुमाल भने झिक्न भ्याएको थिएँ । त्यसबीचमा बेहोस भइनँ । कहिले बाँचिन्छ कि जस्तो लाग्थ्यो कहिले मरिन्छ कि जस्तो लाग्थ्यो । प्यास लाग्थ्यो खल्तीको रुमाल झिकेर त्यसैमा पिसाब गर्थेँ, त्यही चिसोले मुखमा लगेर प्यास मेट्थेँ । दिन–रात के हो भन्ने थाहा नै भएन । चौथो दिन रहेछ, नेपाली सेनालाई सघाउन स्पेनिस उद्धार टोली अत्याधुनिक प्रविधि लिएर आएछ । पुरिएको क्षेत्रमा कति मानिस छन् ? मरेका छन् कि बाँचेका छन् ? भनेर जाँचेको रहेछ । म इँटाको टुक्राले मलाई थिचेको ढलानलाई सुस्तसुस्त हान्ने गर्थेँ, त्यसैको आधारमा हुनसक्छ उद्धार टोलीले जिउँदो व्यक्ति छ भनेर सोहीअनुसार काम गरेछन् । उनीहरूले त्यो पत्ता लागेको १६ घन्टापछि मात्रै मलाई बाहिर निकालेका थिए । त्यतिखेर मलाई मरेर बाँचेकोजस्तो लागेको थियो । तर, हिजो (बुधबार) ओटी रुमबाट बाहिरिएपछि बाँचेर पनि मरेजस्तो लाग्यो । किनकि मेरो देब्रेखुट्टा घुँडामाथिबाट काटिएको छ । पहिले खुट्टा काट्नुपर्दैन भनेका डाक्टरले त्यसले पछि अन्य रोग लाग्न सक्ने भन्दै काट्नैपर्ने भने । अहिले ज्यान त बच्यो, तर खाउँला, लाउँला र केही गरुँला भन्ने वेलामा खुट्टा नै चुँडियो । दुई महिनाअघि भारतबाट फर्केर धेरै कमाउन भन्दै विदेश जाने प्रक्रियामा थिए । भिसा पनि छिटै लागेको थियो । कमाइ पनि राम्रै हुन्छ भनिएको थियो । तर, अब ती सबै सपना बने । नयाँपत्रिकाबाट