
काठमाडौँ, १८ वैशाख । राष्ट्रपति डा रामवरण यादवले यही वैशाख २४ गते व्यवस्थापिका-संसद्को अधिवेशनको आह्वान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका सहसचिव भूपेन्द्रप्रसाद पौडेलले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका–संसद्को अधिवेशन राष्ट्रपतिले आह्वान गर्नुभएको जनाइएको छ ।
संसद् अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बिहीबार अपराह्न ३ बजे बस्ने छ । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिपक्षी मात्र नभई सत्तारुढ दलका सभासद्ले समेत व्यवस्थापिका–संसद्को अधिवेशन आह्वानको माग गर्दै आएका थिए । बुधबार सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेर सरकार समक्ष राखेको १० बुँदे प्रस्तावमा तत्काल अधिवेशन बोलाउनुपर्ने माग राख्नुभएको थियो । महाभूकम्प जाँदा समेत संसद बैठक बस्न नसकेकाले जनप्रतिनिधिहरुले संसदमा जनताको कुरा राख्न नपाएको भन्दै ओलीले प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएको हो ।
केही दिनअघि सरकारले संसद् अधिवेशन आह्वान नगरी सहकारीलगायत केही अध्यादेश जारी गरेकामा त्यसको उनीहरूले आलोचना गरेका थिए । अधिवेशन विभिन्न विधेयकबाहेक गत शनिबारको भूकम्पबाट क्षतविक्षत भौतिक संरचना, पुनःनिर्माण, विकास–निर्माण, राहत, पुनःस्थापनालगायत विषयमा केन्द्रित हुनेछ ।












प्रतिक्रिया