१४ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिममा ठूलो हावाहुरी, हावाहुरीबाट ४ जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudoorpaschim-hawahuriकाठमाडौं, १८ वैशाख । काठमाडौंमा गत शनिवार आएको महाभूकम्पपछि नेपालको सुदूरपश्चिम क्षेत्रमा ठूलो हावाहुरी आएको छ । हावाहुरीबाट सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा जनधनको क्षति भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार विनाशकारी हावाहुरीबाट सुदूरपश्चिममा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका दुई जना र कैलालीका दुई जना रहेका छन् ।

कञ्चनपुरमा कृष्णपुर-२ वाणी गाई बाध्न गोठमा गएकी ५७ वर्षीय सरस्वती धामी र दोधारा-चाँदनी–१ पशुपति टोलमा फुकेका गाईगोरु बाध्न गोठमा गएका ५१ वर्षीय रामबहादुर सिंहको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कैलालीमा घरमाथि रुख ढल्दा च्यापिएर अत्तरिया–१३ जितनपुर मुक्तकमैया शिविरका ३४ वर्षीय विजय बर्मा र अत्तरिया–१२ दरखका ३८ वर्षीय दिनेश बिकको मृत्यू भएको क्षेत्रीय प्रहरी कार्यालय दिपायलको सञ्चार शाखाले जानकारी दिएको छ ।

प्रहरीका अुनसार कञ्चनपुरको दोधारा चाँदनी पशुपति टोलका सिंहलाई उपचारका लागि भारत लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।

Sudoorpaschim-hawahuri-1मध्यरातमा आएको भयानक हुरीबतासका कारण जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका जवान बस्ने भवनमा समेत क्षति पुगेको छ । कार्यालय परिसरमै रहेका रूख र रूखका हाँगा ढल्दा प्रहरी भवनमा क्षति पुगेको हो ।

त्यसैगरी छानामा रूख ढलेपछि सुतिरहेका प्रहरी हवल्दार लालबहादुर थापा समेत घाइते भएका छन् । वडा प्रहरी कार्यालयका अनुसार भीमदत्तनगरपालिका–१८ भगतपुरमा पनि हुरीबतासका कारण एक महिला घाइते भएका छन् ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर बमले हुरीबतासका कारण अधिकांश कच्ची घर क्षति पुर्‍याएको बताउनुभयो । साथै अधिकांश क्षेत्रमा रूख ढल्दा विद्युत् सेवा क्षतविक्षत बनेको छ ।

यस्तै, कैलालीमा धनगढीको रेडियो पश्चिम टुडेको टावर भाँचिएको छ । विभिन्न ठाउमा रुखहरु भाँचिएर विद्युतका तारहर टुटेका छन् ।

हावाहुरीका कारण रातीदेखि नै विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण सडकमा रुखहरु ढलेपछि सुदूरपश्चिममा केही समय यातायात अवरुद्ध भएको थियो । सडकमा ढलेका रुख पन्छाएपछि अहिले यातायात सूचारु भएको छ । अन्य जिल्लामा
मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।